रियललाई पछि पार्दै एटलेटिकोले बार्सिलोनासँग बराबरी गर्यो !

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा एटलेटिको म्याड्रिडले घरेलु मैदानमा एथ्लेटिक बिल्बाओलाई २-० ले पराजित गरेको छ । यससँगै एटलेटिकोले अंक तालिकामा रियल म्याड्रिडलाई उछिन्दै शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ ।

दोस्रो मिनेटमा नै एटलेटिकोका गोलरक्षक जान ओब्लाकले इनिगो मार्टिनेजको हेडर बचाउँदै खेल गोलरहित राखेका थिए । खेलको २८ औं मिनेटमा साउल निगुएजले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६४ औं मिनेटमा एन्जल कोरियाको क्रसमा अल्भारो मोराटाले गोल गर्दै अग्रता दोब्बर पारे । पछिल्लो तीन खेल नै बराबरीमा रोकिएको एटलेटिकोले यस महिना पहिलो जित दर्ता गरेको हो ।

यस जितसँगै एटलेटिको शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एटलेटिकोले १० खेलमा ५ जित, ४ बराबरी र १ हारसँगै १९ अंक जोडेको छ भने बार्सिलोनाको ९ खेलमा ६ जित, १ बराबरी र २ हारसँगै १९ अंक नै छ । गोलअन्तरमा बार्सिलोना अगाडी छ ।

तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ९ खेलमा १८ अंक छ । रियल र बार्सिलोना दुवै यस साता खेल्ने छैनन् । यद्यपि १७ अंक बोक्दै पाँचौ स्थानमा रहेको ग्रानाडासँग लिगको शीर्षस्थानमा उक्लने अवसर छ । आइतबार हुने खेलमा रियल बेटिसलाई पराजित गरे ग्रानाडा शीर्षस्थानमा पुग्नेछ ।

प्रकाशित : आइतबार, कार्तिक १०, २०७६०८:३४

टोटेनहममाथि लिभरपुलको जित