बल पोजेसन राखेपनि रियलले गोल गर्न सकेन, शीर्षस्थानमा उक्लने मौका गुम्यो !

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस ला लिगामा निराशजनक बराबरीको नतिजा निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियालले रियल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीसँगै रियालले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । बार्सिलोनाको हारको फाइदा रियालले उठाउन सकेन । बराबरीपछि एक अंक जोडेको रियाल २२ अंक सहित दोस्रो स्थानमा यथावत छ । समान २२ अंक रहेपनि बार्सिलोना गोलअन्तरमा शीर्षस्थानमा छ ।

सान्टियागो बर्नबेउमा रियालले रियल बेटिसमाथि बल पोजेसन राखेपनि गोल गर्न नसक्दा बराबरीमा चिक्त बुझाउनु पर्‍यो । खेलको आठौं मिनेटमा इडेन हजार्डले गोल गरेपनि भिएआरको सहायताले गोलको मान्यता नपाउदा रियाल अग्रता लिनबाट चुक्यो । १८औं मिनेटमा टोनी क्रुसको प्रहार थोरै बाहिरियो ।

२२औं मिनेटमा नविल फकिर चुक्दा रियल बेटिसले अग्रता लिनबाट चुक्यो । ४३औं मिनेटमा करिम बेन्जेमा र लका मोड्रिचको पासमा कप्तान सर्जियो रामोसको हाफ भली सटलाई बेटिसका गोलरक्षक जोयल रोबलेसले बचाइदिए ।

दोस्रो हाफमा पनि रियालले लगातार पोस्ट आक्रमण बुनेपनि गोलरक्षक रोबलेस बाधक बने । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फरल्यान्ड मेन्डीको पासमा भिनिसियस जुनियरकको प्रहारलाई गोलरक्षकले अविश्वनीय रुपमा बचाइदिए । तेस्रो मिनेटमा भिनिसियसको प्रहार जोउहेर फेदालले गोललाइनबाट बचाइदिए । लगत्तै रिवाउन्डमा कार्भाहलले रामोसलाई उपलब्ध गराएको पासमा रामोसको ब्याकहिल फ्लिक गोलरक्षकले बचाइदिदा रियाल जितबाट वञ्चित बन्यो । बेटिस १३ अंकसहित १४औं स्थानमा छ ।

अर्काे खेलमा सेभिल्ला र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । एट्लेटिको र सेभिल्लाको समान २१ सहित तेस्रो र चौथो स्थानमा छ ।

प्रकाशित : आइतबार, कार्तिक १७, २०७६०८:३६