च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान, अर्को रेकर्डमा रोनाल्डोसँग बराबरी !

जेन्सी – बार्सिलोना कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिगमा नयाँ किर्तिमान रचेका छन् । बुधबार स्लाभिया प्राहाविरुद्ध जितमा गोल गर्दै लगातार १५ औं सिजन च्याम्पियन्स लिगमा गोल गर्ने कीर्तिमान कायम गरेका हुन् ।

मेस्सीले जारि सिजन चोटका कारण सुरुवाती केहि खेल गुमाएका थिए । हाल चोटबाट मुक्त भएपछि पूर्ण रुपमा मैदान फर्किएका मेस्सीले च्याम्पियन्स लिगमा यस सिजन खाता खोल्ने क्रममा कीर्तिमान कायम गरेका हुन् । उनले आर्थरको पासलाई सदुपयोग गर्दै विपक्षी गोलरक्षकलाई बिट गरेर गोल गरेका थिए ।

मेस्सीले प्राहाविरुद्ध गोल गर्दै अर्को कीर्तिमान पनि बराबरी गरेका छन् । उनले च्याम्पियन्स लिगमा समग्रमा ३३ औं फरक टोलीविरुद्ध गोल गरेका हुन् । यसअघि राउल र क्रिस्टियानो रोनाल्डोले पनि ३३ फरक टोलीविरुद्ध गोल गर्दै कीर्तिमान कायम गरेका थिए ।

लगातार १५ सिजनमा गोल गर्ने कीर्तिमान कायम गरेपनि च्याम्पियन्स लिगको फरक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने रायन गिग्सको नाममा छ । गिग्सले म्यानचेस्टर युनाइटेडबाट खेल्दै १६ फरक सिजनमा गोल गर्दै कीर्तिमान कायम गरेका छन् ।

प्रकाशित : बिहिबार, कार्तिक ०७, २०७६०८:४६

च्याम्पियन्स लिगमा लिभरपुलको शानदार जित !