चुनाव लड्न ज्ञानेन्द्रलाई बाबुरामको “च्यालेन्ज” : ‘पार्टी खोलेर पारस-हिमानीलाई पनि उठाए हुन्छ’

काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्।

बिहिबार गोरखामा पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा भट्टराईले पद आवश्यक छ भन्ने सोचाई भए पूर्वराजा ज्ञानेन्द्रले पार्टी खोलेर चुनाव लड्नु पर्ने बताएका हुन्।

ज्ञानेन्द्रले पार्टी खोलेर पारस र हिमानीलाई चुनाव लडाएपनि आफूलाई कुनै आपत्ति नहुने स्पष्ट पारे। जनताले चुनाव जिताए भने ज्ञानेन्द्रले पनि देश चलाउन पाउने उनले धारणा राखे।

“पूर्व राजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाई पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन ।”,उनले भने।

लोकतान्त्रि गणतन्त्रात्मक यात्रामा अघि बढिसकेकोले अब देश पूरानो व्यवस्थामा फर्कन नसक्ने पनि उनले दावी गरे। “नेपालमा अब राजतन्त्र फर्कने सम्भावना छैन् ।”,उनले दावी गरे।

यस्तै भट्टराईले ठूला पदमा बसेका राजनीतिक नेता तथा जनप्रतिनिधिहरु आपराधिक गतिविधिमा संलग्न हुनु अथवा आशंकामा गिरफ्तार हुनुलाई लोकतन्त्र असफल भएको भन्न नमिल्ने बताएका छन्।

ठूला पदमा बसेका व्यक्तिहरु विभिन्न आरोपमा पक्राउ पर्नुले लोकतन्त्र असफल भएको पुष्टि गर्ने भन्दा पनि लोकतन्त्रको छवि बिगार्ने उनक्को धारणा छ।

देशमा लोकतन्त्र भएकै कारण यस प्रकारको अपराध बाहिर आएको उनले दावी गरे।

“जनप्रतिनिधिहरु आपराधिक गतिविधिमा संलग्न हुनु, आशंकामा गिरफ्तार हुनु यसलेचाहिँ लोकतन्त्रको छवि बिगारेको छ यसलाई अलि गम्भीरतापूर्वक लिनुपर्छ। यसको अर्थ फेरि लोकतन्त्र असफल भयो भन्ने होइन, लोकतन्त्र थियो र पो यस्ता अपराध बाहिर आए ।” ,पूर्व–प्रधानमन्त्री समेत रहेका भट्टराईले भने।

विगतको निरंकुशतन्त्रमा ठूला ओहोदाका व्यक्तिहरुको अपराध बाहिर नआउने गरेको भएता पनि अहिले त्यस्तो नरहेको उनले स्पष्ट पारे। निरंकुशतन्त्रको समयमा विभिन्न प्रकारका ठूला तस्करीमा दरबार संलग्न भएको कुरा बाहिर आउने गरेको भएता पनि आरोप लागेकाहरु माथि अनुसन्धान हुन नसक्ने पनि उनले स्मरण गरे।

“हिजो निरंकुश तन्त्रमा ठूला–ठूला अपराध हुन्थे, नमिता सुनिता काण्डहरु हुन्थे, विभिन्न प्रकारका ठूला तस्करीमा दरबार संलग्न भएको कुरा गाइगुइँ आउँथ्यो, तर त्यो कहिल्यै टुंगोमा पुगेन।”,उनले भने,”लोकतन्त्र छ अहिले, त्यसो भएको हुनाले नागरिकको प्रतिनिधि र सभामुख भएको मान्छेसमेत पनि गल्ती गर्‍यो भने समातिन्छ भन्ने सन्देश भएको छ, त्यसलाई सकारात्मक ढंगले लिनुपर्छ ।”

अपराध गर्ने जो-कोहिलाई पनि पार्टी विशेषको आधारमा उन्मुक्ति दिन नहुने उनले बताए। यो पार्टी र ऊ पार्टी भनेर ढाकछोप नगरी गल्ती र बदमासी गर्नेलाई दण्डित गर्नुपर्ने उनको माग छ।

प्रकाशित : बिहिबार, असोज ३०, २०७६१३:१६

कम्युनिष्टभन्दा राम्रो काम गर्न देउवाको निर्देशन, असहयोग गर्ने कर्मचारीहरूको हिसाब राख्ने चेतावनी !