प्रदेश-मुकाम काभ्रे जिल्लालाई बनाउन प्रयासरत छौँ -सञ्चारमन्त्री

बनेपा, २२ वैशाख, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण विगतमा बोलेका कुरा कार्यान्वयन हुने दृढता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “बजेट बनाउने प्रक्रियामा छौं, अब खर्च उत्पादनमा हुन्छ, बाँडीचुँडीमा बजेट जादैन् ।”
उहाँले काभ्रेपलाञ्चोक जिल्लामा विमानस्थल निर्माण गर्ने कुरा विगतमा पनि भनिएको र भर्खरैमात्र स्थलगत रुपमा अनुगमन गरी समिति समेत गरेर उक्त काम अगाडि बढेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले आफूहरुले देखेका समृद्धिका सपना र जनताको बीचमा बाँडेको सपना पूरा गर्नमा सबैको साथ र सहयोग उत्तीकै आवश्यक रहेको बताउनुभयो । सो अवसरमा उहाँले प्रदेश नं ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लालाई बनाउन विभिन्न चरणमा सरोकारवालासँग छलफल भइरहेको बताउनुभयो ।
प्रदेश सांसद वसुन्धरा हुँमागाईंले प्रदेश राजधानीको विषयमा लगभग टुंगो लागिसकेको बताउनुभयो । “ढुक्क हुनुहोस्, प्रदेशको राजधानी काभ्रेपलाञ्चोक जिल्लामा नै हुन्छ” उहाँले भन्नुभयो ।
कार्यक्रम नेकपा एमाले बनेपा नगर कमिटीका संयोजक एवं बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित : शनिबार, बैशाख २२, २०७५०८:०८

आजको दिन तपाईको कस्तो रहला? हेर्नुहोस आजको राशिफल!!