चित्लाङमा चहलपहल !

Leaderboard Banner

रमेशप्रसाद तिमल्सिना
किरिङकिरिङ………………….को आवाजसँगै मोटरसाइकल छेउ लगाएर टक्क अडिएँ । निर्मलजीको फोन रहेछ । फोनमा बातचित भयो । बिहिबारको दिन थियो त्यो । त्यसपछि कार्यालय गएँ । मेरो कामको गति मोडियो । शुक्रबार साँझ कार्यालयका साथीहरूसँग धुलिखेलमा ‘गुड फ्राइडे’ मनाउने मुड थियो । सबै तयारी सकिएको थियो । हरेक छलफलमा कापी कलम लिएर अघि सर्ने मै थिएँ । तर, बिहिबार नै कार्यक्रम परिवर्तन भयो । सिर्फ निर्मल आचार्यजीको एक घण्टीले । यो सबै बेलिविस्तार लगाइसकेपछि कार्यालयका सहकर्मीहरू ‘त्यो एक फोन नउठाएको भए के जान्थ्यो ? भन्दै मलाई धुलिखेल नै जानु पर्छ भन्दै थिए । विशेष गरी राजेश मिश्रजी साँझ सम्ममा कलङ्की आइपुग्न भन्दै हुनुहुन्थ्यो । तर, मैले ललितपुरको जनजनमा मनमनमा रहेको हाम्रै क्याम्पस जनभावना क्याम्पसको टोलीलाई ‘मिस’ गर्न चाहिनँ ।

त्यसभित्र मेरा केही ‘अदृष्य’ तर ‘सकारात्मक’ स्वार्थ थिए । मानिसको जातै स्वार्थी हुन्छ । म पनि त्यही स्वार्थी संसारमा जन्मे हुर्केको अनि बढेको त्यसबाट अलग कसरी हुन सक्थेँ र ? तर, मेरो स्वार्थ पूरा गर्न अरुलाई नकारात्मक असर पारेको छैन । नपार्न हरदम प्रयासरत रहन्छु । मैले आफुलाई सकेसम्म रमाइलो, मेहनती र सहयोगीको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको हुन्छु । आन्तरिक पर्यटनको पूर्ण पक्षपाती म त्यसैका लागि हाम्रै भावनाको महासागर जनभावनाको टोलीमा सँगै रहेँ । जानु अघि मैले रेडियो कार्यक्रम तयार पार्नु थियो । न स्क्रिप्ट, न गेष्ट, न नाटकको लागि तयारी ! बिहिबार नै यो सब गर्नु थियो ।

सबैभन्दा पहिला त विषयवस्तुको छनोट गर्नु थियो । विषयवस्तुको अध्ययन पनि गर्नै प¥यो । यति गरिसकेपछि अन्तर्वार्ताका लागि पात्र तय गरेर कुराकानी गरियो । नाटकका लागि कलाकार मनोज गजुरेलाई फोन गरेर विषयवस्तुका बारेमा जानकारी दिएँ । वहाँ नाटक तयारीमा म कार्यक्रमका अन्य पक्ष तयारीमा । दिउँसो तीन बजेसम्म त कार्यक्रम सकियो । २०४६ सालको अन्तिम केही दिन मात्रै बाँकी छँदा प्रजातन्त्रको पुनप्र्राप्ती भएपछि देशमा मानव अधिकारको हल्लाखल्ला भर्खर चलेको थियो । त्यही मौकामा अन्य केही संस्था मिलेर इन्सेकले २०५१ साल माघ ७ गतेबाट प्रशारण आरम्भ गरेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम शाही साशनका बेलामा बाहेक रोकिएको छैन । अहिले म यही कार्यक्रमको उत्पादक÷प्रस्तोताको रूपमा कार्यरत छु । यो कार्यक्रमका बारेमा फेसबुकमा इन्सेकरेडियो सर्च गरे फेला परिहाल्छ ।

कोलाहाल काठमाडौँ खाल्डोबाट जम्मा २५–३० किलोमिटरको दुरी । तर, छोटो र उपर्युक्त बाटोको अभावमा पाँच घण्टाको बस यात्रा । यो यात्रा तय गर्दा झण्डै १२ बजेको थियो मध्यान्हको । चापागाउँदेखि चित्लाङको यात्रा । अझ भनौँ टाहाखेल आसपासदेखि फाखेल आसपाससम्मको यात्रा । चापागाउँबाट नख्खुसम्म पुगुञ्जेलसम्म यात्रु थपिने क्रम जारी थियो । त्यहाँबाट बस फनक्कै मोडियो चोभारको मञ्जुश्री पार्कतिर । पार्कलाई दायाँ पार्दै हामी ऐतिहासिक चोभार पुग्यौँ । उहिल्यै काठमाडौँमा बस्ती बस्नु अघि मञ्जुश्रीले खड्ग प्रहार गरी छिनालेको गल्छेडो ! यहाँबाट बागमति बाहिरिन थालेपछि मात्रै काठमाडौँ खाल्डो बस्न योग्य भएको रे ! अहिले त मानिस कति हो कति । जता गए पनि मानिस मात्रै छन् काठमाडौँमा । मानिसकै लाम मानिसकै जाम छ काठमाडौँमा ।

‘सङ्घीयताले मानिसलाई पनि विकेन्द्रीत गर्ला भन्ने आशा थियो । त्यो आशामा नै सीमित रह्यो ।’–हामीसँगै सवार एक व्यक्तिले भने ।
२०१० सालमा मोटरबाटो नबनुञ्जेल काठमाडौँ उपत्यका छिर्ने प्रमूख नाका चित्लाङ उपत्यका भएको अग्रजहरूले भन्ने गरेको अहिलेपनि सुनिन्छ । त्यहीबाटो भएर सैयौँ चारपाङ्ग्रे मान्छेका डँडाल्नामा बसेर काठमाडौं भित्र्याइयो रे ! काठमाडौं आवतजावत गर्नेले यो उपत्यका पस्ने र यहाँबाट बाहिर जाँदा चिसापानी गढीमा राहदानी देखाउनुपथ्र्यो रे ! त्यसैले चित्लाङ ऐतिहासिक स्थान भएको हो । चार वर्षअघि प्रकृतिको काखमा लुटपुटिएको चित्लाङलाई सबैले पाखा पारेको भन्दै चिन्तित थियो । तर, अहिले त चित्लाङमा चहलपहल ह्वातै बढेको छ । चित्लाङको चिन्ता आन्तरिक र बाह्य पर्यटक भित्र्याउनेमा छैन । आएका पर्यटकलाई कसरी खुसी पार्ने भन्नेमा छ । साँच्चै चित्लाङेहरूको चित्त निकै फराकिलो हुँदै आएको छ । (यसअघि पनि फराकिलो नै थियो होला थाहा छैन )

फर्पिङ पुगेपछि नागबेली भैmँ घुमेको सानो बाटोमा गाडी घच्याकघच्याक गर्दै उकालो चढ्दै थियो । बेलाबेलामा घुम्तीमा गाडी फनक्कै हुँदा आँखा चिम्लेर राम नाम नै जप्नुपर्ने जस्तो ! हरेक घुम्ती र सडकका खाल्डाले देशको राजनीति प्रतिबिम्बित गरेको महसुस हुन्थ्यो । राजनीतिलाई खिस्याएको महसुस हुन्थ्यो । मलाई महसुस भएर के नै गर्नु र ! राजनीतिक नेतृत्वलाई ‘बाल’ छैन । सँगै यात्रारत मित्र (वहाँ सिनियर हुनुहुन्छ) विश्वराज खनालसँग विविध विषयमा कुराकानी गर्दै अगाडि बढिरह्यौँ । कहिले अगाडि जे देखा प¥यो हाम्रो छलफलको विषयवस्तु त्यही हुन्थ्यो । कहिले देशको राजनीति कहिले पत्रकारिता र समाज । यस्तै यस्तै । हुमाने भञ्ज्याङ पुगेपछि फर्पिङ नगरपालिकासँगै काठमाडौँलाई विदा ग¥यौँ । अनि सुरू भयो इन्द्रसरोवर गाउँपालिका । गाडि त्यहीँ रोकियो । (रोक्न त चालक सोम लामाले रोक्नु भएको हो ।) एकैछिन शारीरिक विश्रामसँगै ऐँसुलु खाइयो । सामान्य खाजा खाइवरी यात्रा अगाडि बढाइयो । डाँडाकाँडामै जन्मे हुर्केको भएकाले होला त्यता देखिएका डाँडावस्ती सबैले ध्यान खिचेको थियो बरमुडा त्रिकोणमा पानी जाहाज तानिए  !

यता काठमाडौँमा धुवाँधुलो, हिलोमैलो आधाघण्टाको यात्रामा पनि पुरै खैराँते ! उता चित्लाङमा बोटविरुवा, बनजङ्गल, खेतीपातिले गाउँ नै हरियो । हरियालीले मात्रै वातावरण पूर्ण हुँदैन भन्ने बुझेका चित्लाङबासीको खुल्ला दिशामुक्त क्षेत्रका लागि राम्रै भित्तेलेखन छ । यो चाँही चार वर्ष अघिकै हो । शहरमा पढेलेखेका सभ्य भनिएकाहरू बागमतीमा मानव मलमुत्र मिसाइरहेका छन् । तीन चार वर्षदेखि सफाई गर्न खोजे पनि जस्ताको तस्तै ! आ… मैले फोहोर गरेर के नै पो हुन्छ र भन्ने खराब बानीले पिरोलेको छ काठमाडौँलाई तर चित्लाङबासीको चिन्ता भनेको चर्पी बाहिर कसैले दिसा गर्ला कि भन्नेमा छ । अहिले यहाँका कुकुरले समेत ‘आची’को सुँइको पाउँदैनन् । केही समयको अभियानबाटै सफलता हात लागेको स्थानीयहरू बताउँछन् ।

मुलाको लागि प्रसिद्ध छ भनेर सामान्यज्ञानमा पढिएको थियो चित्लाङ । चित्लाङ त बाख्रापालनका लागि पनि उतिकै प्रसिद्ध रहेछ । अन्यत्र बाख्राका पाठापाठीलाई मात्रै खुवाइने दुध यहाँ त मान्छेबाट ‘चोरी’ हुँदोरहेछ । सायद दुधालु बाख्रा भएर होला । बाख्राको दुधबाट बनेको चिज बनाउने उद्योग नै रहेछ यहाँ । नेपालमै पहिलोपटक (२०६१ सालमा) बाख्राको चिज उद्योग चित्लाङमै स्थापना गरिएको रहेछ । त्यति मात्रै होइन चित्लाङका चिनारीका रुपमा शिवालय, पौवा, सातधारा, भिमसेन मन्दिर, चम्पेश्वर महादेव पनि हेर्न लायक भएको स्थानीय विद्यालयका शिक्षकसमेत रहेका सञ्जीव नेपालले बताए ।

त्यो भन्दा पनि बढी आकर्षण त यहाँको झुरुप्प परेको गाउँ र प्राकृतिक मनोरम दृष्य नै हो । यो कुरा चाँहि कसैलाई सोधिरहनु परेन । ‘काठमाडौँको यति नजिकै यस्तो रमाइलो ठाउँ कल्पनै गरिएको थिएन । हुन त काठमाडौं नजिक अन्यत्र पनि ओझेल परेका धेरै गाउँ छन् । तिनीहरुको र चित्लाङको विशेषता फरकै पाइयो । यहाँ आएपछि मन फुरुङ्ग भयो । जे होस् रमाइलो भयो ।’–काठमाडौँको बानेश्वरबाट चित्लाङ घुम्न पुगेकी श्रुती श्रेष्ठले भनिन् ।

श्रेष्ठसँग चार जनाको युवा (सबै महिला थिए) को टोली थियो । चारैजना दङ्ग परेर प्रकृतिसँग ‘मजा’ लिइरहेका थिए । श्रुतीले पङ्क्तिकारसँगको कुराकानीमा थपिन्–‘दैनिक कामबाट केही समय आफ्नो लागि निकालेर साथीभाइसँग यो ठाउँमा अवश्य पनि पुग्नुहोला । यो ठाउँमा छुट्टै प्रकारको आनन्द आउँछ । दैनिक जीवनको काम र तनावलाई न्यूनीकरण गर्नको लागि यो ठाउँ अति नै लाभदायक छ ।’
तत्कालीन राजा अंशुबर्माले गोठालाहरुलाई उपहार दिएको भनिएको चित्लाङ अहिले आएर पर्यटकीय गन्तव्य बनेको छ । तामाङ, नेवार, ब्राम्हण क्षेत्री र अन्य धेरै जातजातीका मानिसहरु व्याकुुल माइलाले लेख्नुभएको राष्ट्रिय गान ‘सयौं थुङ्गा पूmलका हामी एउटैमाला नेपाली…! को भाव जस्तै गरी मिलेर बसेका रहेछन् चित्लाङमा । यो समथर र उब्जाउ फाँटमा बनेका घरहरु खेतका कुरुवाहरु झैं देखिन्छन् । तीनतिर घना जङ्गल छ । एकातिर पानी बग्ने गौंडो छ । त्यसैले त पर्यटकीय स्थल बन्यो नि चित्लाङ । एक रात नै बस्नेगरी जानेहरुका लागि यहाँ होम स्टे र अलि पैसा भएकाहरुका लागि रिसोर्ट पनि छ ।

अहिले काठमाडौँदेखि चित्लाङ पुगेर खानपिनसहित एकरात बास बसेर ईन्द्र सरोवरमा बोटिङ गरी काठमाडौँ नै फर्किएको २ हजार ८ सयको प्याकेज छ । तर, प्याकेजमा घुम्नका लागि कम्तीमा १२ जनाको समूह हुन अनिवार्य भनिएको छ । यि सबै निजी कुरा न हो । कुरा मिलाउन जान्नेका लागि २–३ जना मात्रै भएपनि प्याकेज मिलाउन सकिने त श्रुतीसहितका चार जनाको टोली घुम्न गएबाट प्रष्ट्याएको छ । रिसोर्टमा भन्दा होम स्टेमा चाँही झण्डै आधा सस्तो छ । तर, यहाँका होम स्टे नामका मात्रै होलान् कि भन्ने लाग्छ । हामी बसेको होम स्टे चाँही गेष्ट हाउस हो । हामी बसेको होम स्टेमा पाहुना बाहेक अरु कोही बस्ने कोठै थिएन । त्यसैले यहाँका होम स्टे चाँही गेष्ट हाउसजस्तै भन्ने मेरो आरोप हो ।

चित्लाङबासीले व्यवहारबाट मेरो आरोप खण्डन गरुन् । म त्यसैमा सन्तुष्ट हुनेछु । जे होस् काठमाडौँको कहालीलाग्दो कोलाहालबाट चित्लाङ पुगेपछि मन शान्ति हुन्छ र तनावबाट केही मुक्ति पाएको महसुस भने अवश्य हुन्छ ।

प्रकाशित : आइतबार, साउन २७, २०७५२०:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हरेक नेपालीले पढ्नै पर्ने पृथ्वीनारायणका १० दिब्य उपदेश यी हुन्