आमा समूहमा आवद्ध हुँदा छोरा रोजगार

Leaderboard Banner

भीमदत्तनगर । विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैया शिविरकी ४८ वर्षीय अग्निदेवी डगौंरालाई परिवारको लालनपालनदेखि बच्चाको स्याहारसम्मको चिन्ताले पिरोल्यो ।

करीब दुई दशक झलारीमा कमैयाजीवन बिताएका उहाँका श्रीमान् बुद्धिराम चौधरीले मुक्त भएपछि पाएको पाँच कठ्ठा जग्गामा खेती गरेर परिवार पाल्न थाल्नुभयो । चौधरी दम्पती २०६२ सालमा गाउँमा गरीबी निवारण कोषले गठन गरेको सामुदायिक समूहमा आवद्ध भएसँगै काम गर्नसक्ने आँट भएको अग्निदेवी बताउनुहुन्छ । “केही गरुँ भन्दा पनि साहुजनले कमैया भन्दै ऋण दिनै मान्दैनथे” विगत सम्झदै उहाँले भन्नुभयो, ‘अहिले समूहमै आवद्ध हुँदा व्यावसायिक कामदेखि छोरोलाई गाउँमै रोजगारसम्म बनाउन पाउँदा खुशी छु ।” गरीबी निवारण कोषले शिविरका स्थानीयवासीको आयस्तर उकास्न व्यवसायमा प्रेरित गर्ने उद्देश्यले गठन गरेको सन्तोषी सामुदायिक संस्थामा आवद्ध भएकी अग्निदेवीले शुरुमा समूहमा मासिक रु पाँच बचत गर्ने गरेको बताउनुभयो ।

“अहिले रु एक सय बचत गर्न थालेकी छु,” उहाँले भन्नुभयो, “समूहले आर्थिकसँगै आत्मनिर्भर हुन सिकायो ।” समूहबाट रु २० हजार ऋण लिएर बंगुरपालन थालेको चौधरी परिवारले अहिले गाउँमै नमूना मिलसमेत सञ्चालन गरेको छ । “बंगुरपालनसँगै अहिले छोराले रु पाँच लाखको लगानीमा कुटाइपिसाइको मिल समेत सञ्चालन गरेको छ ।” अग्निदेवीले भन्नुभयो–“रु ३० हजार ऋण लिएर किनेको मिलको सबै ऋण चुक्ता गरिसक्यौँ ।” आमाको समूहमा आवद्धताकै कारण आफू बेरोजगार हुनबाट जोगिएको छोटेलाल बताउनुहुन्छ । तीस वर्षीय छोटेलालले बुबा कमैया हुँदा आर्थिक अवस्था कमजोर भएका कारण पाँच कक्षामै पढ्न छाड्नुपरेको बताउनुभयो ।

“पढाइमा राम्रै थियो । घरको अवस्थाले पढ्न नसक्दा गाउँमै डकर्मीको काम गरे ।” छोटेलालले भन्नुभयो–“आमाको ऋणबाट गरेको व्यवसायले अहिले परिवारको खर्च टरेको छ, ऋणबाट हाम्रो परिवारको स्थितिमा धेरै सुधार आयो ।” ऋण लगानीकै कारण आफू मिलको मालिक बन्न सकेको उहाँको भनाइ छ । विसं २०७२ देखि शिविरमा मिल सञ्चालन गरेका छोटेलाल अहिले दैनिक रु एक हजार ५०० देखि रु दुई हजारसम्म आम्दानी हुनेगरेको बताउनुहुन्छ । “चाडपर्वका बेला रु तीन÷चार हजारसम्म कमाइहुन्छ,” उहाँले भन्नुभयो, “शुरुमा रु तीन लाख पर्ने मेसिन रु ३० हजार तिरेर धनगढीबाट उधारोमा ल्याए, अहिले डेढ लाख रुपैयाँमा अर्को मेसिन समेत ल्याइसकेँ ।” अहिले विदेशको कमाइ घरमै बसीबसी गर्न सकेको उहाँ बताउनुहुन्छ ।

मुक्तकमैया शिविरमा हुर्किनुभएका उहाँ सरकारले कमैयाका बालबालिकाको शैक्षिकस्तरमाथि उठाउन विशेष खालका प्याकेज ल्याउनुपर्नेमा जोड दिनुहुन्छ । “अध्ययन नभएपछि फेरि कमैया बस्नुपर्ने अवस्था नआउला भन्न सकिन्न,” उहाँले भन्नुभयो । चौधरीले भन्नुभयो, “शैक्षिक अवस्थामा सुधार आए परिवार र समाजमा सुधार आउन कठिन हुन्न ।” सरकारले दिएको पाँच कठ्ठा जग्गा पर्याप्त छैन । उहाँको मिलमा पिसाइका लागि नौखरी शिविरसँगै, फारिफाँटा, फुलेली र सिसैयाबाट समेत स्थानीयवासी आउने गरेका छन् । हाल नौवटा बंगुरपालन गरिरहेको बताउँदै छोटेलालले गत वर्ष रु एक लाख दश हजारमा बंगुर बिक्री गरेको बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) गरीबी निवारण कोषका कार्यक्रम संयोजक टेक बुढाले शुक्लाफाँटा नगरपालिकामा मात्रै कोषका ३३ वटा समूह रहेको बताउनुभयो । “सबैतिर अहिले आयमूलक काममा लागेर समूह हँुदै सहकारीसम्ममा बचत गर्नेसम्म भइसकेका छन्,” संयोजक बुढाले भन्नुभयो, “नौखरी शिविरमा तरकारी खेतीदेखि मोबाइल र किराना पसलसम्म सञ्चालन गरेर परिवारको खर्च चलाउनेको संख्या अत्याधिक रहेको छ ।”

प्रकाशित : बिहिबार, चैत २९, २०७४१४:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बैशाख ९ गते पार्टी एकता, अाैपचारीक निर्णय हाेइनः नेता रावल