Connect with us

खेलकुद

अहिले नेपाल केन्यासँग भिड्दै , यस्तो छ नेपालको जित्ने सम्भावना (अंक तालिकासहित)

काठमाडौँ । अहिले नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट अनतर्गत नेपालले आज केन्याको सामना गर्दैछ। यस अघिनै ५ पटक सम्म एक दिवसीय विश्वकप किर्केट खेलेर सेमिफाइनलसम्म पुगिसकेको टिम केन्याविरूद्ध आज नेपाली टोलीले दिउँसो सवा १ बजे नामिबियाको वन्डरर्स मैदानमा उत्रिंदै छ ।

प्रतियोगिताको आफ्नो तेस्रो खेलमा आइतबार युएईलाई पराजित गरेको नेपालले आफ्नो चौथो खेलमा केन्यासँग खेल्न लागेको हो । डिभिजन टु अन्तर्गत केन्यासँगको आज खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। यदि आजको खेलमा नेपालले जित हात पार्न सके नेपालको विश्व कप छनोट खेल्ने सम्भावना थप बलियो  भएर जानेछ । इतिहाँसमा बलियो टिमको रुपमा स्थापित भैसकेको केन्या डीभिजन २ नेपालसँगै रेलिगेसन परेको हो।

प्रतियोगितामा आईसीसी डिभिजन थ्री बाट बढुवा भएर आएका क्यानडा र ओमन तथा नेपालसँगै आइसीसी वल्ड क्रिकेट लिग च्याम्यनसिपबाट घटुवा भएर आएका केन्या, संयुक्त अरब इमिरेट्स र नामिबिया सहभागी छन । प्रतियोगिता अन्तर्गत  नेपालले शुक्रबार ओमनसँग, आइतबार संयुक्त अरब इमिरेट्ससँग, आज सोमबार केन्यासंग र बुधबार  लिगको अन्तिम खेल क्यानडासँग खेल्नेछ ।

लिग चरणका खेलबाट शीर्ष दुईमा परेमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागी हुन पाउनेछ । जिम्बाब्बेमा हुने विश्वकप छनोटमा १० टोली सहभागी हुनेछन् । १० टोलीबाट पनि शीर्ष दुईमा पर्ने टोलीसन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी हुनेछन् ।

कस्तो छ आजको खेलमा  नेपालको सम्भावना 

इतिहासलाई फर्केर हेर्ने हो भने केन्या निकै बलियो टिम मानिन्छ । तर, केन्याको लगातारको खस्कदो प्रदर्शनले गर्दा भने नेपालले आजको खेल जित्न सक्ने सम्भावना पनि बलियो छ। यस पहिले  सन् २०१४ मा विश्वकप छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाल र केन्या पहिलो पटक भेट भएको थियो । उक्त खेल नेपालले एक विकेट हरेको थियो।

त्यसपछि यी दुई टिमले सन् २०१५ को डिभिजन–२ खेलमा नेपाल र केन्या दुई पटक खेलेका थिए। त्यतिबेला लिग चरणको खेलमा नेपाल ५ विकेटले पराजित भए पनि तेस्रो स्थानको लागि भएको प्लेअफ खेलमा भने नेपालले  केन्यालाई १५ रनले हाराएको थियो। हालै एक वर्ष अघि मात्र नेपालले आफ्नो घरेलु मैदान (टियु क्रिकेट मैदान) केन्यासँग २ ओटा खेल खेलेको थियो जसमा नेपाल पहिलो खेलमा केन्यासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पाखा लगाएको थियो ।

यसरी सरसर्ती हेर्दा नेपाल र केन्याबीचको खेल हेड टु हेड रहेको छ। नेपालको पछिल्लो प्रदर्शनलाई हेर्दा आजको खेल नेपाललाई जित्न त्यति सहज भने देखिदैन। नेपाली टिम जारी प्रतियोगितामा खासै लयमा देखिंदैन।

यस्तो छ अंक तालिका

जारी डिभिजन-२ मा नेपाल ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। क्यानडा लगातार तेस्रो जित निकाल्दै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। क्यानडाले आइतबार भएको खेलमा केन्यालाई ५९ रनले पराजित गरेको थियो। यसअघि क्यानडाले पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।

अंक तालिकाको तेस्रो स्थानमा युएई छ। युएईले एक खेलमा जित निकाल्दा २ खेलमा हार बेहोरिसकेको छ। २ खेलबाट २ अंक जोडेको आयोजक नामिबिया चौथो तथा ३ खेलबाट २ अंक जोडेको ओमान पाँचौ स्थानमा छ। दुवै खेलमा पराजित केन्या पुछारमा छ। डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।

यस्तै उच्च श्रेणीको क्रिकेट खेल्न पनि नेपाललाई डिभिजन टु को शिर्ष दुईमा पुग्नु पर्ने हुन्छ । नेपाल केन्यासँग पराजित भए अन्तिम खेलमा क्यानडालाई हराएर अन्य टोलीको नतिजामा समेत भर पर्नु पर्ने हुन्छ । त्यसैले केन्यालाई हराउने योजनामा नेपाल रहनेछ । डिभिजन टु को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउनेछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!