“दलहरु गुण्डाहरुको भर्ति केन्द्र बने, संघियता खारेज गर्दै हिन्दुत्व-राजसंस्था पुनर्स्थापना गरिनुपर्छ”

काठमाडौँ – पूर्वसहायकमन्त्री विराज बहादुर विष्टले देशमा भएका दुई ठूला राजनीतिक परिवर्तनले पनि केहि उपलब्धि दिन नसकेको बताएका छन्।

समसामयिक राजनीतिक विषयमा बिगुल न्युजसँग कुरा गर्दै विष्टले २०४७ र ६२६३ को आन्दोलन पछि पनि देशले गति लिन नसकेको प्रति चिन्ता व्यक्त गरेका हुन्।

विभिन्न परिवर्तन पछि नेपाली जनताले विभिन्न राजनीतिक दल, व्यक्तिलाई विश्वास गरेता पनि विश्वास अनुरुप काम हुन नसकेको विष्टले बताए।
“जुनै जोगी आएपनि कानै चिरेको” भनेझैं सबै दलले नेपाली जनतालाई निराश बनाएको उनको जिकिर छ।

सरकार र प्रतिपक्षमा रहेका कुनै पनि पार्टीले सामाजिक, आर्थिक, राजनीतिक निकाश दिन नसकेको हुँदा अब बिकल्प खोज्ने समय आइसकेको पनि उनले स्पष्ट पारे।

राजनीतिक दलहरु अपराधी बस्ने घर र गुण्डा तथा ठेकेदारको भर्ति केन्द्र बन्दै गएको विष्टको आरोप छ। निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणले विश्वमै नेपाल प्रति नकारात्मक सन्देश गएको उल्लेख गर्दै उनले निष्पक्ष अनुसन्धान हुनुपर्ने समेत विष्टले धारणा राखे।

यस्तै बिगुल न्युजसँग कुराकानी गर्दै उनले आफू कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको पनि स्पष्ट पारेका छन्। राजनीतिक दलहरु प्रति विश्वास गर्न सकिने आधार नरहेको कारण आफू नागरिक अभियानमा जुटेको पनि उनले बिगुल न्युजलाई जानकारी गराए।

“राष्ट्रिय शक्ति नेपाल, राष्ट्रवादी अभियान” मार्फत खबरदारीका कार्यक्रमहरु आयोजना गर्न लागेको बारे उनले जानकारी गराए। देशको निकाश कसरी हुन सक्छ ? भन्ने विषयमा देशभरका युवा माझ छलफल गरी आधारपत्र तयार पारेपश्चात तिहार पछि औपचारिक रुपमा अभियानको घोषणा हुने पनि उनले जानकारी गराएका छन्।

उनले दिएको जानकारी अनुसार “राष्ट्रिय शक्ति नेपाल, राष्ट्रवादी अभियान”को एजेण्डा मुलतः संघियताको खारेजी, हिन्दुत्व-राजसंस्थाको पुनर्स्थापना आदि रहनेछ।

२०७२ सालमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा विष्ट राप्रपा नेपालको तर्फबाट स्थानीय विकास सहायक मन्त्री नियुक्त भएका थिए। मन्त्री भएको केहि समय पछि उनलाई राप्रपा नेपालले फिर्ता बोलाएको थियो।

प्रकाशित : शुक्रबार, असोज २४, २०७६१२:३६

नेपाल कब्जा गर्ने भारतीय साम्राज्यवादको सपना चीनकै कारण सफल हुन सकेको छैन – नेकपा मसाल