कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिन मिल्दैन – भीम रावल

काठमाडौँ – भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलले तीनदिने नेपाल भ्रमणको क्रममा सत्तारूढ पार्टीका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेको भन्दै समाचार आएको समयमा सत्तारूढ पार्टीकै एक नेताले भारतीय गुप्तचरको सक्रियताप्रति आपत्ति जनाएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भीम रावलले मंगलबार एक ट्वीट गर्दै वाह्य शक्तिको नेपालमा हुने चलखेल प्रति आपत्ति जनाएका हुन्।

उनले ट्वीटमा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख समान्तकुमार गोयललाई इंकित नगरेता पनि उनको सक्रियतालाई लक्षित गर्दै ट्वीट गरेको अनुमान गरिएको छ।

कुनै पनि देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिनु कूटनीतिक मर्यादा विपरीत हुन जाने उनको बुझाइ छ। पहिलाका सरकारहरुसँग वाह्य शक्तिको अचाक्ली चलखेल रोक्ने सामर्थ्य नभएपनि अहिलेको सरकारलाई संविधान र जनताको बहुमतले सामर्थ्य दिएको उनले ट्वीटमा उल्लेख गरेका छन्।

“नेपालमा शान्ति प्रक्रियाको समयमा वाह्य शक्तिको अचाक्ली चलखेल थियो । रोक्ने सामर्थ्य सरकारसंग थिएन। हाल संविधान र जनताको बहुमतले सरकारलाई अधिकार र सामर्थ्य दिएको छ । कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कूटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्छ।”,रावलले लेखेका छन्।

प्रकाशित : बुधबार, साउन ०८, २०७६०८:५९

बेपत्ता भएको ११ दिनपछि गौतमको शव भेटियो, सँगै फेला पर्यो भिजेको सुसाइड नोट पनि !