बलिङमा सनसनी मच्चाउँदा नेपालले पायो सामान्य लक्ष्य

काठमाडौँ : नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको थियो। नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा १९.३ ओभरमा अलआउट हुँदै १२० रन बनायो।

करण केसीले खेलको पहिलो ओभरको चौथो बलमा ओपनर माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए। त्यसपछि तेस्रो नम्बरमा आएका साइब्राण्डलाई शुन्य रनमै आउट गराए।

त्यसपछि संयमित साझेदारी गरेको नेदरल्यान्ड्सको मध्यम क्रमलाई प्रतिश जिसी र कुशल मल्लले धरापमा पारे। नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए।

नेपालका प्रतिश जिसीले समग्रमा ३ विकेट लिँदा करण केसी र कुशल मल्लले समान २-२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

नेपाललाई फाइनल खेल्ने सम्भावना कायम राख्न आज नेदरल्यान्ड्समाथि जित निकाल्नु पर्ने बाध्यता छ । नेपालले शुक्रबार नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकाल्दै फाइनल खेल्ने सम्भावना जीवित राखेको थियो ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । आज जित निकाल्न सके नेपालले चार अङ्क जोड्नेछ । अहिले तीन खेलबाट दुई अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ । नामिबियाको पनि समान खेलबाट दुई अङ्क छ ।

दुई खेलबाट चार अङ्क बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ । आइतबार नेदरल्यान्ड्स र नामिबियाको खेल हुनेछ । उक्त खेलमा नेदरल्यान्ड्स विजयी भएका नेपाल सहजै फाइनल पुग्नेछ । यदि नामिबिया विजयी भएपनि नेपालको अघिल्लो यात्रा नेट रनरेटमा भर पर्नेछ ।

प्रकाशित : , ०, ०१३:१९

शनिबारको लज्जास्पद हारको बदला लिने नेपालको दाउ अधुरै,अब पीएनजीसँग खेल्ने