सन्दीपको सानदार अलराउन्ड प्रदर्शन, बने प्लेयर अफ द म्याच !

काठमाडौं – नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपमा कतारविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुर्याउन सानदार अलराउन्ड प्रदर्शन गरेका सन्दीप खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् ।

नेपाललाई जिताउन करिअरको उत्कृष्ट ब्याटिङको साथै घातक बलिङ गर्दै पाँच विकेट लिएका सन्दीप प्लेयर अफ द म्याच चुनिएका हुन् । यसअघिका दुई खेलमा नेपालको प्लेयर अफ द म्याच कुशल मल्ल चुनिएका थिए ।

जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । कतारलाई सस्तैमा अल आउट गर्न सन्दीपले सर्वाधिक पाँच विकेट लिए ।

सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिएपछि मध्यम योगफलमै पनि नेपालले फराकिलो जित हात पारेको थियो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । नेपालका सन्दीपले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहेका थिए ।

एक समय २८ ओभरमा १११-९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्याएका थिए ।

सन्दीपले तल्लोक्रममा सानदार प्रदर्शन गरेपछि नेपालले ब्याटिङमा आफ्नो लाज बचाएको थियो । प्रमुख ब्याटर चल्न नसकेपनि सन्दीपले प्रतिस्पर्धात्मक योगफलको आधार तय गरेका थिए ।

सन्दीपको यो कुनैपनि अन्तर्राष्ट्रिय खेलको उच्च प्रदर्शन हो । यसअघि सन्दीपले टियु क्रिकेट मैदानमै २०१९ नोभेम्बरमा मेरिलेबोन क्रिकेट क्रिकेट क्लब (एमसिसी) विरुद्ध पहिलो इनिङमा २१ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रनमा अविजित थिए । घरेलु क्रिकेटमा भने यो संयुक्त उच्च प्रदर्शन हो ।

सन्दीपले २०२१ को काठमाडौं मेयर्स कपमा मेयर्स ११ बाट कप्तानी गर्दै बागमती प्रदेशविरुद्ध २० बलमा ६ छक्कासहित ४२ रनमा आउट भएका थिए ।

नेपालले सेमिफाइनल खेलमा समूह बी को उपविजेतासँग खेल्नेछ । हङकङ र कुवेतबीचको खेल मुलपानी क्रिकेट मैदानमा जारी छ । उक्त खेलको नतिजापछि समूह बी को विजेता र उपविजेता निर्धारण हुनेछ । सेमिफाइनल शनिबार र फाइनल सोमबार हुनेछ । उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

प्रकाशित : , ०, ०१५:४९

भिनिसियस माथि आक्रमण गर्ने भ्यालेन्सिया पर्यो फन्दामा, हुने भयो यस्तो कडा कारबाही !