काठमाडौँ : कार्तिक कृष्णपक्षको एकादशीलाई रम्भा एकादशी या रमा एकादशी भनिन्छ। तिहारभन्दा केवल ४ दिनअघि यस एकादशी पर्छ। लक्ष्मी माताको अर्को नाम रमा पनि हो। सनातन धर्ममा प्रत्येक व्रतको आफ्नै महत्व छ। तर एकादशीलाई सबै व्रतहरूमा सबैभन्दा कठिन मानिन्छ। एकादशी व्रत भगवान विष्णुलाई समर्पित हुन्छ। विधि विधानपूर्वक एकादशी व्रत बस्दा भगवान विष्णुको विशेष कृपा प्राप्त हुन्छ। साथै माता लक्ष्मीको आशिर्वाद पनि प्राप्त हुन्छ। प्रत्येक महिनाको दुवै पक्षमा एकादशी व्रत पर्ने गर्छ।
कार्तिक महिनाको कृष्ण पक्षको एकादशीलाई रमा एकादशी भनिन्छ। माता लक्ष्मीको नाम रमा पनि हो। कार्तिक महिना भगवान विष्णुको अत्यन्तै प्रिय महिना हो र यो एकादशी तिहारको ठीक अघि पर्छ। त्यसैले यस एकादशीको व्रत बस्दा भगवान विष्णुको आशिर्वाद प्राप्त हुन्छ र धनकी देवी माता लक्ष्मी प्रसन्न हुन्छिन्। यो वर्ष कार्तिक ४ गते शुक्रबार रमा एकादशी व्रत मनाइँदैछ।
रमा एकादशीमा लक्ष्मी र भगवान विष्णुको पूजा गर्नाले पाप नष्ट हुन्छ। यो व्रत बस्दा मृत्युपछि सद्गति प्राप्त हुन्छ। महिलाहरुका लागि रमा एकादशी व्रत महाकल्याणकारी हुन्छ किनकी यो व्रत बस्दा उनीहरुले सुख र सौभाग्य दुवै वरदानस्वरुप प्राप्त गर्छन्।
रमा एकादशीको व्रत दशमी तिथिको साँझ सूर्यास्तपछि सुरु हुन्छ। एकादशी तिथिको दिन बिहान सबेरै उठेर स्नान गर्नुहोस्। भगवान विष्णु र माता लक्ष्मीको अगाडि व्रतको सङ्कल्प लिनुहोस् र त्यसपछि विधिपूर्वक भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नुहोस्। उनीहरुलाई धूप, दीप, नैवेद्य, पञ्चामृत , फूल र मौसमअनुसारका फल चढाउनुहोस्। बेलुका खाना खानु अघि पूजा र आरती गर्नुहोस्।
रमा एकादशीको दिन भगवान श्रीकृष्णको अगाडि बस्नुहोस्। भगवान श्रीकृष्णलाई गोपी चन्दन अर्पण गर्नुहोस्। त्यसपछि एक विशेष मन्त्रको जप गर्नुहोस्। मन्त्र – “ॐ ह्रीं श्रीं लक्ष्मीवासुदेवाय नमः”
एकादशीको व्रत राख्दा राम्रो हुन्छ। रातको समयमा श्रीहरिको केशव रूपको पूजा गर्नुहोस्। उहाँको अगाडि श्री गोपाल स्तुति पढ्नुहोस्। राम्रो स्वास्थ्य र राम्रो मानसिक अवस्थाको लागि प्रार्थना गर्नुहोस्।