एजेन्सी – ब्राजिलियन स्टार फरवार्ड नेयमारका लागि यस सिजन सकिसकेको छ। खुट्टामा लागेको चोटका कारण नेयमारका लागि यो सिजन सकिएको हो। खुट्टाको शल्यक्रिया गरिसकेपछि नेयमार यति बेला आराम गरिसकेका छन्।
नेयमार कहिले मैदानमा फिर्ता हुन्छन् भन्ने बारे कुनै पनि जानकारी बाहिर आएको छैन। नेयमार सन् २०२३-२४ को सिजन सुरु भएको केहि महिनापछि मात्र खेल्नको लागि उपलब्ध हुने बताइन्छ।
नेयमार पूर्व रुपमा ठीक भएर मैदान फिर्ता हुन ढिलो हुने भएसँगै पिएसजी यति बेला नेयमारलाई बिक्री गर्न नसकिने अवस्थालाई लिएर चिन्तित बनेको छ।
समर ट्रान्सफर विन्डोमा नेयमारलाई बिक्री गर्न नसकिने डरले पिएसजीलाई यति बेला सताइरहेको विभिन्न खेल मिडियाहरु बताउँछन्। समर ट्रान्सफर विन्डोमा नेयमारले चिकित्सा परीक्षण पास गर्न नसक्ने भएका कारण उनी पिएसजीमै बस्नुपर्ने हुन सक्छ।
यति बेला पिएसजी सो विषयलाई लिएर धेरै नै चिन्तित रहेको छ। गत समर ट्रान्सफरमै पिएसजीले नेयमारलाई बिक्री गर्न खोजेको थियो। तर विभिन्न कारणहरुले उनको ट्रान्सफर सम्भव हुन सकेन।
चोटका कारण यसपालि पनि नेयमार पिएसजीमै रोकिन सक्छन्। पिएसजी र नेयमार बीच सन् २०२७ सम्मका लागि सम्झौता छ र पिएसजीले नेयमारलाई उच्च पारिश्रमिक दिँदै आएको छ। समर ट्रान्सफर विन्डो नजिकिरहेका बेला पिएसजीले नेयमारको अवस्थालाई समाधान गर्ने बाटो खोजिरहेको छ।