काठमाडौँ : सिद्धार्थ बैङ्क (एसबिएल) नेपाल प्रिमियर लिग ( एनपिएल ) को पहिलो संस्करण यहीँ शनिबार मङ्सिर १५ गतेबाट टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।
अहिले सर्वत्र एनपिएलकै चर्चा भईरहेको छ। चौतर्फी एनपीएलको माहौल बनिरहेको बेला सोमबार नेपालको सांस्कृतिक धरोहर धरहराबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफीको अनावरण गरेका छन् । प्रधानमन्त्री ओलीले आठवटै टोलीका मार्की खेलाडीको रोहवरमा धरहरालाई साक्षी राखेर ट्रफीको अनावरण गरेका हुन् ।
क्यानले एनपिएललाई विश्वको सगरमाथा जस्तै उच्च बनाउन ट्रफीको टुप्पोमा सगरमाथा क्षेत्रस्थित कालापत्थरको ढुङ्गा राखेर थप महत्त्व बढाएको छ । ट्रफीको सार्वजनिकसँगै सामाजिक सञ्जालमा यसको चर्चा थप चुलिएको छ ।
यसैबीच सोमबार राति क्यानले प्रतियोगिताका लागि टिकटको मूल्य सार्वजनिक गरेको छ। एनपिएलको टिकेटिङ पार्टनर खल्तीका अनुसार मङ्सिर १५ गते एनपिएल उद्घाटनको खेलको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७०० रुपैयाँ राखिएको छ।
यसैगरी समूह चरणका अन्य खेलहरुमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ राखिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ।
प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७०० रुपैयाँ राखिएको छ।
त्यस्तै फाइनल खेलमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट १००० रुपैयाँ तोकिएको छ।
क्यानले एनपिएलको पहिलो सिजन भरीको लागि २० % छुट हुने सिजनल पासको पनि व्यवस्था गरेको छ। पहिलो संस्करणको पूरै प्रतियोगिता हेर्नलाई जनरलतर्फ ४,४८० रुपैयाँ तिर्नुपर्नेछ भने भीआईपी तर्फ ८,२४० रुपैयाँ तिर्नुपर्नेछ।