गरुड पुराणलाई हिन्दु धर्ममा महापुराणको स्थान दिइएको छ। यसमा भगवान विष्णु र उहाँको मनपर्ने वाहन गरुड देवबिच भएको संवाद समावेश गरिएको छ। जसमा मानिसको जन्मदेखि मृत्युसम्म, मृत्युपछिको आत्माको यात्रा, कर्मको फल, स्वर्ग-नर्कको अवधारणा आदिको बारेमा विस्तृत रूपमा व्याख्या गरिएको छ।
यसका साथै सफलता, सुख र समृद्धि प्राप्त गर्ने उपायको बारेमा पनि यसमा वर्णन गरिएको छ। गरुड पुराणका अनुसार जुन व्यक्तिले हरेक बिहान यस्ता काम गर्छ उसलाई हरेक काममा सफलता मिल्छ। देवी-देवताहरूले सधैँ यस्ता व्यक्तिलाई आशीर्वाद दिनुहुन्छ साथै यस्ता मानिसलाई जीवनमा कहिले पनि कुनै कुराको कमी हुँदैन।
प्रत्येक बिहान सबेरै सूर्योदय हुनु भन्दा पहिले नुहाएर भगवानको दर्शन गरी पूजा गर्नुपर्छ। यसपछि आफ्ना पुर्खाहरूलाई याद गर्नुहोस् र उहाँहरूको आशीर्वाद पनि लिनुहोस्। यसो गर्ने व्यक्तिले हरेक काममा सफलता पाउँछन्। देवी-देवता र पितृको कृपाले यस्ता व्यक्तिलाई कहिल्यै कुनै कुराको अभाव हुँदैन।
गरुड पुराणका अनुसार घरमा जुनसुकै खानेकुरा पकाउनुहुन्छ, त्यसलाई पकाउँदा शुद्धताको पूर्ण ख्याल गर्नुपर्छ। खाना तयार गरेपछि पहिले भगवानलाई अर्पण गर्नुहोस्। यसो गर्नाले माता अन्नपूर्ण र माता लक्ष्मी प्रसन्न हुन्छिन्। ध्यान राख्नुहोस् कि खाना शुद्ध हुनुपर्छ। भगवानलाई लसुन-प्याज कहिल्यै नचढाउनुहोस्।
गरुड पुराणका अनुसार सधैँ गरिब दुःखी मानिसहरूलाई सहयोग गर्नुहोस्। यस्ता मानिसलाई खाना, कपडा र अन्य आवश्यक चीजहरू दान गर्नुहोस्। यसबाहेक बिरामीको सेवा गर्नुहोस्।
गरुड पुराण अनुसार हरेक दिन भान्सामा पाकेको पहिलो रोटी गाईलाई र अन्तिम रोटी कुकुर र पक्षीलाई दिनु पर्छ। यसो गर्नाले पुरानो जन्मको कर्म पनि नष्ट हुन्छ र जीवनमा सबै सुख प्राप्त हुन्छ।