एजेन्सी : – आईपीएल २०२४ को क्वालिफायर २ मा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुँदैछ । खेल नेपाली समय अनुसार राति ७:४५ बजेबाट सुरु हुनेछ। चेन्नईस्थित एम.ए चिदाबरम स्टेडियममा हुने यो खेलमा जुन टोलीले जित्छ सोझै फाइनल पुग्ने छ। फाइनल पुग्ने टिमले आइतबार कोलकाता नाइट राइडर्सको सामना गर्नेछ। आजको खेलमा उत्कृष्ट पावर हिटर जोडी ट्राभिस हेड र अभिषेक शर्मा तथा युजवेन्द्र चहल र रविचन्द्रन आश्विनबीच प्रतिस्पर्धा हुनेछ ।
हेड र अभिषेकले आक्रामक ब्याटिङबाट दर्शकलाई निकै मनोरञ्जन दिएका छन् । यो जोडीलाई ‘ट्रेविशेक’ नाम दिइएको छ । हालको संस्करणमा हेडले १९९.६२ को स्ट्राइक रेटमा ५३३ रन बनाएका छन् भने अभिषेकले २०७.०४ को स्ट्राइक रेटमा ४७० रन बनाएका छन् । दुवै ब्याट्सम्यानको ब्याटबाट अहिलेसम्म ७२ छक्का र ९६ चौका प्रहार भइसकेका छन् ।
योसँगै सनराइजर्ससँग हेनरिक क्लासेनजस्ता विस्फोटक ब्याट्सम्यान छन् । उनले १८० को स्ट्राइक रेटमा ४१३ रन बनाएका छन् । योसँगै उनको ब्याटबाट ३४ छक्का निस्किएका छन् । क्लासेन आउने बित्तिकै ठूला शट खेल्नका लागि परिचित छन्। तर, चेपौकको विकेट उप्पल, कोटला र वानखेडेको मैदानभन्दा अलि फरक हुनेछ । बल यहाँ रोकिएर आउनेछ। यस्तो अवस्थामा ठूला शट खेल्न अलि गाह्रो हुन सक्छ।
रोयल्सको बलिङ आक्रमणलाई हेर्दा अश्विन र चहलको जोडी चेपौकमा हैदराबादका लागि समस्या बन्न सक्छ । दुवैलाई यो विकेटको राम्रो ज्ञान छ। योसँगै लिगको अन्तिम चरणमा आश्विन आफ्नो फर्ममा फर्किन सफल भएका छन् । यस्तो अवस्थामा उनी क्वालिफायर–२ मा खतरनाक सावित हुन सक्छन् ।
यससँगै सनराइजर्सको बलिङलाई हेर्दा यो सिजनमा सबैभन्दा बढी विकेट लिने टी नटराजन हुन्। घरेलु मैदानमा खेल्दा उनी परिस्थितिको पूरा फाइदा लिन चाहन्छन् । यसबाहेक भुवनेश्वर र कमिन्सको अनुभवले हैदरावादको बलिङ आक्रमणलाई बलियो बनाउनेछ ।
राजस्थानको शीर्ष ब्याटिङ क्रम आफ्नो लयमा फर्किएको देखिन्छ। आरसीबीविरुद्धको एलिमिनेटर खेलमा यशस्वी जैसवालले दमदार प्रदर्शन गरेका थिए। ओपनिङ ब्याट्सम्यानले २०२४ को टी–२० विश्वकपअघि आफ्नो फर्मलाई निरन्तरता दिन चाहन्छन् । तर, कप्तान सञ्जु सामसनको फर्म भने चिन्ताको विषय बनेको छ । वास्तवमा पछिल्लो तीन खेलमा उनले २० रनको अंक पनि छुन सकेका छैनन् ।
यस खेलमा सबैको नजर पछिल्लो दुई खेलमा फ्लप भएका ध्रुव जुरेलमाथि हुनेछ । एकै समयमा, रोयल्सले हेटमेयर र पावेलबाट विस्फोटक प्रदर्शनको अपेक्षा गर्नेछ। यसबाहेक रियान पराग आफ्नो विस्फोटक ब्याटिङबाट विपक्षीलाई ध्वस्त पार्ने धुनमा हुनेछन्।