काठमाडौँ- प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज बिहीबार देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराइ दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ। यसैगरी प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने अर्थात् मातृ सम्मान दिवसका लागि वृहस्पति अस्तले कुनै फरक पर्नेछैन्।
बैशाख औँसीको दिन केही नियमहरु अवश्यै पालना गर्नुपर्नेछ। औँसीका दिन यी गल्तीहरु गर्दा सुख, समृद्धि र स्वास्थ्यमा नराम्रो प्रभाव पर्ने जनविश्वास रहेको छ ।
बैशाख औँसीको दिन नगर्नुहोस् यी काम
१. बैशाख औँसीको दिन यदि कुनै दीनदुखी तथा दरिद्र या साँधु-सन्त तपाईको घरमा आए भने उनीहरुलाई कहिल्यै खाली हात फर्काउनुहुँदैन्। आफ्नो श्रद्धा र योग्यता अनुसार दान गर्नुहोस्।
२. बैशाख औँसीको दिन सात्विक भोजन गर्नुपर्छ। यस दिन मासु र मदिरा बाहेक लसुन र प्याज पनि सेवन गर्नु हुँदैन ।
३. शास्त्रका अनुसार औँसीको दिन भूत-पिशाच जस्ता नकारात्मक ऊर्जा अधिक सक्रिय हुने जनविश्वास रहेको छ। त्यसैले मसानघाट नजिक जानुहुँदैन्।
४. औँसीको दिन सूर्य ग्रहण पनि लागेको छ। त्यसैले यस समयमा तुलसी या पिपलको पात चुडाउनुहुँदैन्। यसले अशुभ परिणाम दिन्छ।
५. शास्त्र अनुसार औँसीको दिन सदाचार र ब्रह्मचर्यको पालना गर्नुपर्छ।