साप्ताहिक राशिफल: चैत महिनाको दोस्रो साता शुभ-अशुभ कस्तो रहला, हेर्नुहोस् साप्ताहिक राशिफल !

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – (चैत ४ देखि १० गतेसम्म)

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – ४ गते पाप मोचनी एकादशी व्रत । ५ गते प्रदोष व्रत, वारुणी योग। ६ गते पिशाच चतुर्दशी, (पाशा चह्रे पूजा)। ७ गते दर्शश्राद्ध, घोडेजात्रा। ८ गते नयाँ सकवर्ष र पिङ्गल नामको संवत्सर सुरु हुने, नीमको पात खाने र बिहानै तेल लगाई स्नान गर्ने । ९ गते चन्द्रोदय। १० गते मत्स्य जयन्ती।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

खर्च बढे पनि महत्वपूर्ण काममा प्रगति हुनाले मनमा प्रसन्नता नै होला। विशेष गरी व्यापारसँग सम्बन्धित नयाँ काममा लगानी हुन सक्छ। मद्दत गर्ने मित्रहरू भेट्टाउनुहुनेछ। शिक्षाको क्षेत्रमा भने अझैँ पनि प्रगति हुनुपर्ने बेला आएको छैन। बगलामुखीको दर्शन गरिरहनुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साता राम्रो खालको छ। बाँकी रहेका धेरै काम बन्नेछन्। पढाइमा भने त्यति प्रगति देखिन्न। मित्रहरू पनि खर्च गराउने खालका भएकाले ठूलो मद्दत प्राप्त हुने आशा नगर्नुहोस्। व्यावसायिक कामबाट भने राम्रै फाइदा लिन सक्नुहुनेछ। जागिरतिरको अवस्था हाल सामान्य खालको मात्र छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सुरुका तीन दिन त्यति राम्रा छैनन्। बन्नुपर्ने कामहरू त्यसै थाती रहलान्। मङ्गलबार बेलुकीदेखि केही प्रगति भए पनि स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नु पर्ला। व्यावसायिक कामबाट भने गतिलै लाभ लिन सक्नुहुनेछ। शनिश्चरको सेवा गरिरहनुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

त्यति राम्रो समय छैन। गोडामा कष्टको अनुभव भइरहला। शनिबारको दिन बिहानै पीपलमा जल चढाउनुहोस्। अल्झेका कामहरू बुधबारदेखि मात्र बन्न सक्छन्। परिवारबाट पाउनुपर्ने सहयोगमा भने त्यति कमी हुनेछैन। पढ्न र लेखनमा बढी समय दिनुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मङ्गलबारसम्मका दिन राम्रा खालका छन्। आंशिक रूपमा भए पनि कामहरू बन्ने नै देखिन्छ। बुधबार र बिहीबार भने समस्या थप्ने खालका छन्। शुक्रबारका दिन कुनै गतिलो समाचार सुन्न पाउनुहुनेछ । सूर्यको दर्शन गरिरहनुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यात्रा हुने समय छ तर त्यसबाट विशेष फाइदा भने लिन सक्नुहुनेछैन। विवाहसम्बन्धी कुरामा प्रगति देखिँदैन। लामो विदेश यात्राको सपना नदेख्नुहोस्। मनमा रहेको शङ्का र भय हटाउन भगवतीको दर्शन गर्नु आवश्यक छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

स्वास्थ्यसम्बन्धी सानोतिनो समस्या परेर पूर्वाद्र्धमा केही काम बिग्रे पनि उत्तराद्र्ध राम्रो खालको छ। पुराना बाँकी रहेका काम बन्नेछन्। पढाइमा भएको शिथिलता घट्ने क्रममा जाला। बौद्धिकस्तर बिस्तारै परिमार्जित हुँदै आएको छ। जागिरमा धेरै समस्या आउनेछन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

अलि–अलि काम बने पनि मनमा सन्तोष हुनेछैन। बाधा दिने धेरै छन् । सहयोग गर्नेको सङ्ख्या अत्यन्त न्यून छ। स्वास्थ्य पूरा सग्लो हुनेछैन। गणेशको दर्शन गर्न थालिहाल्नुहोस्। बुधबारको दिनमा भने अलिकति सन्तोष हुने काम होला।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

खर्च घट्ने क्रममा छैन। सम्मान र प्रतिष्ठा पनि बढ्ने देखिन्न। आयस्तर भने पहिलेको भन्दा सप्रिएर आउला। मद्दत दिने मित्रहरू भेट्टाउनुहुनेछ। व्यावसायिक कामबाट सन्तोष नै हुनेछ। जागिरको क्षेत्रमा पनि प्रगति हुने देखिन्छ। स्वास्थ्यको स्थिति मध्यम रहला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

राम्रो खालको साता छ। सुरुमै भोजभतेर पर्नेछन्। मनोरञ्जन गर्न पनि सञ्चित धनको खर्च नै हुनेछ। केही महत्वपूर्ण काममा प्रगति भएको सुन्न पाउनुहुनेछ तर कार्यरूपमा परिणत हुन भने अझैँ पर्खनु पर्ला। शिक्षाको क्षेत्रमा गतिलै उपलब्धि हुन सक्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शनिबारको दिनमा बढी खर्च भए पनि आइतबारदेखिका दिन राम्रा खालका छन्। खर्च गरेअनुसार केही काम पनि बन्नेछन्। विशेष गरेर व्यवसायको क्षेत्रमा यतिखेर राम्रो छ। पढ्न र लेख्नमा बढी समय दिनुहोस् । राम्रो रचनाको सिर्जनासमेत हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यो सातालाई मध्यम रूपमा लिन सकिन्छ। आय र व्यय बराबरै हुनेछ। स्वास्थ्यको स्थिति पनि मध्यम रहनेछ। व्यावसायिक क्षेत्रबाट सामान्य लाभ मात्र होला । पढाइमा भने प्रगति नै देखिन्छ। नारायणको दर्शन गरिरहनुहोस् र पीपलमा नित्य जल दान गर्नुहोस्।

अर्को समाचार:

ग्रहचक्रमा ‘नवमञ्च योग’ बन्दै, ३ राशिलाई आकस्मिक धन लाभ साथै भाग्योदयको सम्भावना !