माघ महिनाको यस साता कुन राशिलाई कस्तो रहला, हेर्नुहोस् साप्ताहिक राशिफल !

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – माघ ७ देखि १३ गतेसम्म

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – ७ गते दर्श श्राद्ध, माधवनारायण मेला । ८ गते सोनाम ल्होसार । ९ गते चन्द्रोदय । ११ गते तिलकुन्द चौथी । १२ गते वसन्त पञ्चमी र वसन्त श्रवण, सरस्वती जयन्ती, रतिकाम पूजा । १३ गते स्कन्द षष्टी ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

राम्रो खालको साता छ । काम गर्ने उत्साह बढी रहला भने गरेका काम पनि सफल हुनेछन् । आर्थिक स्थिति खराब छैन । मित्रबाट पाइने सहयोगमा कुनै कमी देखिन्न । व्यावसायिक क्षेत्रमा भने हाल मध्यम स्थिति छ । गणेशको दर्शन गरी नै रहनुहोस् ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साताका सुरुका दिनमा डर लागिरहला । सोमबार बेलुकीदेखि मात्र भय हटेर आंशिक रूपमा काम गर्ने उत्साह बढ्ला । तैपनि शङ्का गर्ने बानी भने हट्ने छैन । डाह र रिस गर्नेहरू धेरै छन् । गणेशको सेवाबेगर तिनीहरूसँग मुकाबिला गर्न सकिने छैन ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

यस सातालाई राम्रो रूपमा लिन सकिन्छ । आधाभन्दा बढी भाग नकारात्मक पक्षका छन् । धेरै बाधाको सामना गर्नुपर्नेछ । आलोचना गर्नेहरूको सङ्ख्यामा कमी छैन । गोडामा तकलिफ होलाजस्तो छ । शनिबार शनिको आराधना गरिरहनुहोस् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

साता त्यति राम्रो छैन । केही काम होला कि भन्ने आशा गरे पनि सफलता पाइने छैन । निरर्थक हिँडाइ भने प्रशस्त होला । मद्दत गर्नेहरूको सङ्ख्या अत्यन्त सीमित छ । पछाडि बसेर छिर्की हान्नेहरू निकै नै छन् । शिवजीको दर्शन र आराधना गरिरहनुहोस् ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बाधा आए पनि यो साता लड्न सक्ने क्षमता यथेष्ट छ । हातले समातेको व्यवसायमा अनेकौँ कठिनाइ खडा हुन सक्छ र तपाईंको विरोध गर्नेहरू पनि धेरै हुनेछन् । माधव नारायणको दर्शन गरिरहनुहोस् अथवा विष्णु सहस्रनामको नित्य पाठले बाधा हट्न सक्छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यो साता खर्चको परिमाण घट्ने नभई बढ्दै जानेछ । परिवारबाट त्यति सन्तोष पाउनुहुने छैन । स्वार्थी खालका मित्र छन् । यात्राको सम्भावना हाल देखिन्न । प्रेम वा विवाहको कुरामा बाधा तेर्सिन सक्छ । भगवतीको आराधना गरिरहनुहोस् । जागिरको आर्जनले व्यवहार धानिनेछ

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

साताका सुरुका दिनमा स्वास्थ्य गडबडिन सक्छ । जाडोको मौसममा हुने रोगले सताउला र स्वास्थ्यकै लागि खर्च बढ्न पनि सक्छ । मित्र भने असल खालका छन् । असल खालका मित्र हुँदा मद्दत नै गर्नेछन् । घरपरिवारबाट पाउने सहयोगमा कमी हुने छैन ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो साता खर्च त घट्ने छैन तर गरेको काममा सफलता पाउनाले मन प्रसन्न नै होला । परिवारको स्वास्थ्यले खर्च बढाउन सक्छ । विदेश यात्राको सम्भावना पनि हाललाई देखिन्छ । नयाँ खालको रोजगारी मिल्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । पीपलमा नित्य जल चढाउनुहोस् ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

खर्च बढेरै जाला तर केही गतिला काम भने बन्ने छन् । जागिरतिरबाट भएको असन्तुष्टि क्रमशः घटेर जानेछ भने केही नयाँ खालको कामसमेत होलाजस्तो छ । पढाइको क्षेत्रमा आएको शिथिलता घट्ने क्रममा जाला । ज्ञान सिक्नेतिर समय दिनुहोस्, राम्रै प्रगति हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सातालाई राम्रो रूपमा लिन सकिन्छ । सुरुकै दिन भोजभतेर पर्नेछन् । मन मिलेका मित्रसँग भेटघाट होला । केही गतिलो विचार विमर्श पनि हुन सक्छ । नयाँ खालका मित्र थपिने समय छ । राम्रो काममा खर्च हुनाले मानसिक चिन्ता पर्ने छैन ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

साताका सुरुका दिनमा बढी खर्च होला र आफ्नै खर्चले भोजभतेर गर्नुपर्नेछ । पढाइमा भन्दा व्यवसायको सम्बन्धित काममा खर्च हुन जाला । वास्तविक सहयोग दिने मित्र कम छन् र स्वार्थीको सङ्ख्या धेरै छ । एकै थलोमा बस्न मन लाग्ने छैन र यात्रा बढी होला ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यो साता सप्रिएको छ । आर्थिक स्थितिमा क्रमशः सुधार हुँदै जाला । पढाइ र लेखाइका बाँकी रहेका काम पूरा गर्नेतिर मन लाग्ला । व्यावसायिक काममा हाल प्रगति देखिन्छ । बाधा दिनेहरू भए पनि मुकाबिला गर्न सक्ने शक्ति यथेष्ट छ । भैरवको दर्शन गरिरहनुहोस्।

अर्को समाचार:

आज शुभ ग्रह शुक्र राशि परिवर्तन गर्दै, यी ४ राशि हुनेछन् मालामाल !