असोज महिनाको पहिलो सता कस्तो रहला दिन, हेर्नुहोस् साप्ताहिक राशिफल !

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी

मेष राशि (चु चे चो ला लि लु ले लो अ)

पहिलेको भन्दा यो साताको स्थिति सप्रिएको छ । आर्थिक स्थिति सुदृढ हुँदै जाला । व्यावसायिक कामले फाइदा गराउनेछ । शनिबार बढी खर्च भए पनि आइतबारदेखि मङ्गलबारसम्म प्रशस्त आर्जन गर्न सक्नुहुनेछ । मित्रबाट पाइने सहयोगमा कत्ति पनि कमी हुने देखिन्न ।

वृष राशि (इ उ ए ओ वा वी वु वे वो)

साताको सुरुकै दिन भोजहरू पर्नेछन् । त्यसपछि भएको आम्दानीले गर्जो टर्ला । आर्थिक स्थिति पूरा बलियो छैन । ज्यादै निराशा नभए पनि बढ्दो खर्चका कारण चिन्ता परिरहला । भगवतीको सेवा र गणेशको दर्शनले समस्यालाई हल गर्न सकिनेछ । शिक्षाको क्षेत्रमा राम्रो छ ।

मिथुन राशि (का कि कु घ ङ छ के को हा)

यो सातामा मनोरञ्जन निकै गरिनेछ । भोजहरू त्यत्तिकै पर्ने छन् । इष्टमित्रसँग भेटघाट भइरहला तर उनीहरूबाट खास उपलब्धि लिन सक्नुहुने छैन । व्यावसायिक काममा फाइदा नै छ । व्यापारी वर्गका लागि समय राम्रो छ । गणेशको दर्शन गरिरहनुहोस् ।

कर्कट राशि (ही हु हे हो डा डि डु डे डो)

यो साता अलिअलि समस्या आए पनि काम गर्न छोडिने छैन र गरेको काममा सफलता पनि छ । आर्थिक स्थिति राम्रै रहला । प्राविधिक खाले कामबाट विशेष फाइदा छ । भ्रमण गर्ने तरखर पनि चलिरहला । मित्र एवं टाढाका नतेदारसँग भेट हुनसक्छ । नयाँ मित्र थपिन पनि सक्छन् ।

सिंह राशि (मा मि मु मे मो टा टी टू टे)

बौद्धिक स्थिति त्यति परिमार्जित नभए पनि यो साता आर्थिक स्थिति भने मध्यम रहला । व्यावसायिक कामबाट आर्जन गर्न सक्नुहुनेछ । दौडधूप बढी होला । भ्रमणसमेत हुने देखिन्छ । परम्परा धान्नका लागि खर्च भने गरिरहनुपर्ला । जागिरको क्षेत्रबाट गतिलै लाभ लिन सक्नुहुनेछ ।

कन्या राशि (टो पा पी पू ष ण ठ पे पो)

यो साता मनमा डर लागिरहला । स्वास्थ्यको स्थिति हाल मध्यम मात्र छ । व्यावसायिक कामबाट त्यति ठूलो लाभ देखिँदैन । शिक्षाको क्षेत्रमा समेत गति आउन सकेको छैन । कुनै काम पनि स्थिर भएर गर्नु हुने देखिन्न । प्राविधिक क्षेत्रबाट ठूलो उपलब्धि होलाजस्तो पनि छैन ।

तुला राशि (र  रि रु रे रो ता ति तु ते)

यो साताको शनिबार त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना भएकाले बिहानै शिवजीको दर्शन र खाना खाँदा दही ग्रहण गर्नुहोस् । आइतबारदेखि मङ्गलबारसम्म मनमा शङ्का लागिरहला । बुधबारदेखिका दिन भने राम्रा छन् । मित्रको सहयोगले केही काम बन्न पनि सक्छन्

वृश्चिक राशि (तो ना नि नू ने नो या यि यू)

साता त्यति राम्रो देखिन्न । अनेकौँ समस्यासित जुध्नु पर्ला । बन्ला बन्लाजस्तो भएर कतिपय काम बिग्रने छन् । व्यावसायिक काममा दौडधूप चलिरहला । नातेदारबाट ठूलो सहयोग पाइने आशा नगर्नुहोस् । बरु पढ्ने र पढाउने काममा सफलता देखिन्छ ।

धनु राशि (ये यो भा भी भू ध फा ढा भे)

प्रसन्नता दिने साता छ । इष्टमित्रसँग भेटघाट हुनुका साथै केही गतिला कामसमेत बन्नेछन् । नयाँ साथी थप्ने योजना भने हाल थन्क्याउनु होस् । त्यस्तै प्रेमको क्षेत्रमा पनि तगारो आउन सक्छ । पढाइमा मध्यम प्रगति मात्र छ । सन्तानबाट राम्रै सहयोग मिल्ला ।

मकर राशि (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

यो साताको शनिबार खर्च भएअनुसार काम बन्ने छैन । आइतबारदेखि भने गतिलै सफलता पाउनुहुनेछ । आर्थिक स्थिति राम्रै रहला । नयाँ साथी थपिनेछन् र उनीहरूले गतिलै सल्लाह दिनेछन् । असल काम गर्ने प्रवृित्तसमेत बन्ला । भ्रमणको योजना बन्न सक्छ ।

कुम्भ राशि (गू गे गो सा सी सु से सो दा)

यो साता ज्यादा होसियार भएर पाइला चलाउनुहोस् । सहयोग गर्नेभन्दा रिस गर्नेहरू बढी छन् । खर्च पनि बढी नै रहला । व्यापारसम्बन्धी कामबाट केही उपलब्धि हुनसक्छ । जागिरबाट सोचेभन्दा कम मात्र सफलता मिल्ला । पारिवारिक सहयोगमा भने कमी आउने देखिन्न ।

मीन राशि (दी दू थ झ दे दो चा ची)

मध्यम खालको समय छ । यो साता आधा काम बन्ला भने आधा बाँकी रहला । स्वास्थ्यको स्थिति त्यति राम्रो छैन र स्वास्थ्यकै लागि खर्च भइरहला । परिवारबाट पूरै सन्तुष्टि पाउनुहुने छैन तर साहसको मात्रा भने कत्ति पनि घट्ने छैन । भगवतीको आराधनाले धेरै समस्या टर्न सक्छन् ।

अर्को समाचार:

३० वर्षको अन्तरालमा शनि देवको स्थितिमा ठूलो परिवर्तन, यी राशिको लागि भाग्योदय साथै धन लाभको प्रबल योग !