उप कप्तान दीपेन्द्रको आक्रामक ब्याटिङ, श्रीलंकालाई बलियो लक्ष्य !

काठमाडौं – उप कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कष्ट ब्याटिङ गरेसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका यू२३ लाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । नेपालका उप कप्तान दीपेन्द्र सिंह ऐरी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए । १८ औं ओभरको चौथो बलमा आसिता फ्रर्नान्डोलाई चौका प्रहार गर्दै अर्ध शतक पुरा गरेका थिए ।

पवन सरार्फ १३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा क्याच आउट भए । पाँचौ विकेटका लागि पवन र दीपेन्द्रले ६२ रनको साझेदारी गर्दै नेपालाई बलियो योगफलमा पुर्याएका थिए । करण केसी १ रनमा नट आउट रहे । पुर्व कप्तान तथा ओपनर पारस खड्कालाई काविष्का अन्जुलाले दोस्रो ओभरकोे दोस्रो बलमा विकेटकीपर निशान मदुशंकाबाट १ रनमा क्याच आउट गराए ।

दोस्रो विकेटका लागि आरिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्न खोजेका थिए । राम्रो सुरुवात दिएका आरिफ छैटौं ओभरको पहिलो बलमा १९ रनमा क्याच आउट भए । कामिन्दु मेन्डिसको पहिलो बलमै ठूलो सटको धुनमा लङ अफमा आसेन बन्दराबाट क्याच आउट हुनुअघि आरिफले १५ बलमा २ छक्का प्रहार गरे । दुविन्दु तिलकरत्नेले आठौं ओभरको तेस्रो बलमा मल्ललाई २१ रनमा बोल्ड आउट गरे । ज्ञानेन्द्रले २० बलमा ३ चौका प्रहार गरे ।

चौथो विकेटका लागि विनोद भण्डारी र दीपेन्द्रले ५६ रनको साझेदारी गरेका थिए । १५ औं ओभरको पाँचौ बलमा कामिन्दुले विनोदलाई २१ रनमा बोल्ड आउट भए । विनोदले २३ बलमा १ चौका प्रहार गरे ।

श्रीलंका लागि स्पिनर कामिन्दु मेन्डिसले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले १-१ विकेट लिए ।

अर्को समाचार:

भारतकी कवितालाई पछि पार्दै सन्तोषीले जितिन स्वर्ण, नेपालको स्वर्ण २० पुग्यो ! [नामावली सहित]