‘लिम्पियाधुराको प्रमाण बेलायतबाट पनि ल्याईन्छ’

फाइल तस्बिर

काठमाडौँ :  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतद्वारा अतिक्रमित भूमि फिर्ता  गराउन पहल भइरहेको बताएका छन् ।

बिहीबार मन्त्रीपरिषद बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद समाधान गर्नेबारे कुटनीतिक पहल भइरहेको जानकारी गराएका हुन् ।

उनले लिम्पियाधुरासम्म नेपालको भूमि भएको प्रमाण सुरक्षित रहेको बताउदै भने‘हामीलाई अरूको भूमि एक इन्च पनि चाहिँदैन, हामीसँग प्रमाण छन् त्यो भूमि हाम्रो हो। पुरानो जनगणना, हाम्रा लालपूर्जा प्रमाण हुन्, व्रिटेनका अभिलेखालयमा पनि सुगौली सन्धिका प्रमाण होलान्। हामी त्यो प्रमाण खोज्न सक्छौं,’

आफूहरुले अरुको जमिनमा आँखा नगाडेको बताउदै मन्त्री बाँस्कोटाले प्रमाण नपुगेको जमीन एक इन्च पनि नचाहिने बताए ।‘हामीले विभिन्न प्रमाण पुगेको जमीनको मात्रै दाबी गरिरहेका छौ, प्रमाण नपुगेको जमीन एक इन्च पनि चाहिँदैन ।’,उनले भने ।

उनले चर्का कुरा गरेर मात्र सीमा समस्या समाधान नहुने भन्दै यसबारे सरकारले कुटनीतिक पहल सुरु गरिसकेको बताए। भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समेटिएपछि दुई देशबीच सिमाबारे समस्या आएको हो।

भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा दिनहुँ जसो विभिन्न राजनीति दल सहित ती निकट संगठनहरुले राजधानी लगायत देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आइरहेका छन् ।

अर्को समाचार:

‘पैसा फिर्ता गर्ने कुरा गर्दा माफियाको भन्दा मन्त्रीको पसिना बढी किन आउँछ’