औद्योगिक विकासका लागि योजनाबद्ध रुपमा लाग्छु: मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्धरूपमा अघि बढ्ने बताउनुभएको छ । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्नुहँदै उहाँले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “उद्योगीहरुले वातावरण बनेको छैन भनेका छन् । मैले हिजो नै उहाँहरुलाई वातावरण तयार गर्न के गर्नुपर्छ ल्याउनुस् भनेको छु । उहाँहरुको सल्लाह–सुझाब आएसँगै सोहीअनुसार काम गर्नेछु ।”

उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्ने उहाँको भनाइ थियो । अहिले आफूले मन्त्रालयका समस्याका विषयमा बुझ्ने काम गरेको भन्दै उहाँले केही दिनपछि कसरी अगाडि बढ्ने त्यसको लागि योजना बनाउने बताउनुभयो । मन्त्री भट्ट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्न यहाँ आउनुभएको हो ।

गढीमाई मेला भर्न भक्तजन आउन थाले
विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवतरूपमा शुरु भएको छ ।

मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला भर्न भारतलगायत अन्य मुलुकबाट पर्यटकहरु आउने गरेको र राँगा, खसीबोका बली हेर्न पर्यटक आउने गरेका छन् ।
गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै रहेको र यहाँ भाकल गर्ने र भाकल पूरा भएपछि बलि दिन आउनेहरुको सङ्ख्या अहिलेदेखि नै बढ्दै आएको पञ्चवर्षीय मेला मूल समितिले जनाएको छ ।

मङ्सिर १७ गते बोका तथा १८ गते राँगाको बलि दिइने साइत जुरे पनि अहिलेदेखि नै सो ठाउँमा भक्तजन तथा व्यापारीहरु आउने क्रम शुरु भएको छ भने मेलाभरि तीन किलोमिटर टाढा सवारी साधन पार्किङको व्यवस्था गरिएको वडाध्यक्ष सुदामा साह कानुले बताउनुभयो ।

विश्वमा सबभन्दा बढी पशुबलि दिने भएपछि सर्वोच्च अदालतले बलि प्रथालाई निरुत्साहित गर्न सरोकारवालालाई आदेश दिएपछि यो प्रथालाई रोक्न खोज्दा गढीमाई मेलाको मुख्य विशेषता नै हराएर जाने भए पछि यस प्रथालाई हटाउन विस्तारै–विस्तारै जनचेतना फैलाउँदै जाने गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको भनाइ छ ।

मेलामा दर्शनार्थीलाई प्रवेश गर्न कलैया, कवही, सिम्रौनगढ, मटिअर्वा र बरियारपुर गरी पाँच प्रवेशद्वार राखिनुका साथै मेला क्षेत्रमा सुरक्षा चुनौतीलाई चुस्त र दुरुस्त पार्न मेला परिसरमा करीब ८० सिसीटिभी क्यामेरा जडान गरिने गढीमाई मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र साहले बताउनुभयो । मेलालाई व्यवस्थित बनाउन कलैया, मझरिया, मधवन, गञ्जभवानीपुर, मलहनी, विजलपुर, अर्नाहालगायतका गाउँका १० हजारभन्दा बढी क्षेत्रफलमा १० हजार जति स्टल रहनेछन् ।

पञ्चवर्षीय मेला मूल समितिले व्यापार गर्ने व्यापारीसँग प्रतिफिट रु तीन हजारको दरले रकम लिएर स्टल राख्न दिने गरेको छ । देशविदेशबाट मेला भर्न आउने सर्वसाधारण पर्यटकका लागि ६०० भन्दा बढी शौचालय राखिने र ठाउँठाउँमा धर्मावलम्बीहरुका लागि विश्रामस्थल राखिनेछ ।

यसैगरी गढीमाईमा आउने पशुहरु स्वस्थ छ वा छैन भनी जाँच गर्नका लागि पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जले बाराको कलवाको मधवनचोक, भुरहाचाक, इन्र्वाचोक, बरियारपुर, भवानीपुर तथा गढीमाई स्कूलमा अस्थायी पशुसेवा तथा उपचार पोष्ट राखिएको प्रमुख डा हरेराम यादवले बताउनुभयो । विसं २०५२ मा चढाउन आएको खसी, बोकामा पिपिआर रोग देखापरेकाले सो सेवा सञ्चालन गरिएको बताइएको छ । कार्यालयले पशुबलि दिने ठाउँमा सङ्क्रमण नहोस् भनेर त्यसका पनि व्यवस्था गरिएको छ ।

पञ्चवर्षीय मेला मूल समितिले टाढा–टाढाबाट आउने भक्तजनहरुले बलि दिने चौपाया खरीद गर्न नसकेमा सो बराबरको रकम चढाउनसमेत व्यवस्था गरिएको छ । मेलामा मुख्यरूपमा राँगा, खसी, बोका र परेवा चढाउने परम्परा रहेको छ ।

अर्को समाचार:

नेपालको भूमि फिर्ता भएरै छाड्छ, देउवाले आधारहीन हल्ला चलाए : अध्यक्ष दाहाल