‘रियलका लागि बेन्जेमा रोनाल्डो सरह छन्’

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा बुधबार रियल म्याड्रिडले गालाटासरेलाई ६-० ले पराजित गर्दा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले २ गोल र १ असिस्ट प्रदान गरे । यसक्रममा बेन्जेमाले रियलका लागि च्याम्पियन्स लिगमा ५० गोल पूरा गरे ।

खेलपछि बेन्जेमाबारे बोल्दै प्रशिक्षक जिनेदिन जिदानले क्लबका लागि बेन्जेमा र रोनाल्डोको उस्तै भूमिका रहेको बताए ।

‘बेन्जेमाको गोल संख्याले पनि उनी कस्ता खेलाडी हुन् भन्ने प्रष्ट पार्छ ।फुटबल बुझ्नेलाई उनको स्तरबारे कहिल्यै शंका रहन्न । उनी टोलीको आक्रमणको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्,’ जिदानले थपे, ‘ रोनाल्डोको प्रस्थानपछि उन्म परिवर्तन भएको पाटो भनेको उनको बुझाइ हो । उनी अहिले थप जिम्मेवार बनेका छन् ।’

‘बेन्जेमा आफैं एक पिता बनेका छन् जसको असर खेलमा पनि प्रष्ट देखिन्छ । म उनको लागि निकै खुसी छु । उनले च्याम्पियन्स लिगमा अल्फ्रेडो डी स्टेफानोको कीर्तिमान तोडेका छन् । रोनाल्डोजस्तै उनी पनि क्लब इतिहासको महत्त्वपूर्ण पाटो बनेका छन्,’ फ्रान्सेली प्रशिक्षकले थपे, ‘उनी निकै राम्रो गरिरहेका छन् र अब त्यस्को फाइदा क्लबले नै लिने हो ।’

जिदानले गालाटासरेविरुद्ध ह्याट्रिक गरेका रोड्रीगोको पनि प्रशंसा गरे । ‘ रोड्रीगो जम्मा १८ वर्ष भए । उनले पाएको अवसरलाई उचित ढंगले सदुपयोग गरेका छन् । उनले आक्रमणमात्र नभएर डिफेन्समा पनि सहयोग गरेका छन् । उनले कडा मिहिनेत गरेको फल मैदानमा प्राप्त गरेका छन्,’ जिदानले भने ।

अर्को समाचार:

मेस्सीको ह्याट्रिकले सेल्टा डि भिगोमाथि सहज जित