राष्ट्रिय प्रसारण लाइनमा जोडियो ९.९ मेगावाट विद्युत्

ताप्लेजुङ – ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाईड्रो पावर कम्पनीले निर्माण गरेको इँवा खोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.९ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

गएको साउनमा नै निर्माण सम्पन्न भएको आयोजनाबाट काबेली करिडोरअन्र्तगत पाँचथरको अमरपुरस्थित सवस्टेशनमार्फत असोजको शुरुबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको परियोजना निर्देशक कुबेरमणि नेपालले जानकारी दिए।

निजी क्षेत्रको लगानीमा सम्पन्न भएको आयोजना २०७३ सालदेखि शुरु भएको थियो । दुई वर्षभित्रै अर्थात् २०७५ जेठमा सम्पन्न गर्ने लक्षका साथ आयोजनाको निर्माण शुरु भए पनि काबेली करिडोर निर्माणमा ढिलाइ भएकाले आयोजनाको अवधि बढेको बताइएको छ । कूल रु एक अर्ब ६० करोडको लागतमा सम्पन्न गर्ने योजना भए पनि पहिरो लगायतका कारण १५ प्रतिशत लगानी बढेको नेपालले बताए ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ मा पर्ने साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिकास्थित थर्पुको पुछारमा पर्ने काभ्रे दोभानमा हेडबक्स रहेको आयोजनाको विद्युत्गृह भने थर्पुको दाहाल गाउँस्थित त्रिवेणीमा रहेको छ । आयोजनाको बाँधस्थलदेखि तीन किलोमिटर पाइपलाइनबाट विद्युत्गृहमा पानी पु¥याइएको छ ।

आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीयको १० प्रतिशत लगानी रहेको उक्त आयोजनामा १५ प्रतिशत सर्वसाधारणको, २५ प्रतिशत रिडी हाइड्रो पावर कम्पनीको र ५० प्रतिशत भने सञ्चालक तथा संस्थापक शेयर धनीको लगानी छ ।

अर्को समाचार:

छिमेकीले श्रीमान श्रीमतीलाई नै बन्चरो हानेपछि …