खोलाको जग्गा धितो राखी ५ करोड लिएर भ्यालुएटर र ऋणी फरार …

काठमाडौँ : बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय श्रेष्ठसहित ६ जनालाई प्र्हरिले गत शुक्रबार पक्राउ गरेको छ ।

खोलाको जग्गामा नक्कली धनीपूर्जा खडा गरेर ऋण दिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका सीइओ श्रेष्ठसहित विक्रम पन्त, सुष्मा शाह, ऋचा श्रेष्ठ, किरण बोहोरा र पुष्पराज भण्डारीलाई  नियन्त्रणमा लिएको हो ।

झापाको बिरिङ खोलाभित्रको जग्गा धितो राखेर ५ करोड रूपैयाँ ऋण दिएको  खुल्न आएपछि श्रेष्ठसहित अन्य ६ जनालाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको सीआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए।

उनका अनुसार झापाका सुरेन्द्र श्रेष्ठले बिरिङ खोलाको बहाबमा पर्ने जग्गाको नक्कली धनीपूर्जा बनाएर चार वर्षअघि बैंक अफ काठमाण्डूबाट ५ करोड ऋण निकालेको प्रकरण प्रहरीसम्म पुगेपछि ऋण प्रवाहमा  संलग्न देखिएका सबैलाई पक्राउ गरिएको हो ।

बैंकबाट ऋण स्वीकृत भएपछि सावाँ र ब्याजसम्म नबुझाई श्रेष्ठ फरार भएपछि धितोबारे बुझ्दै जाँदा खोलाको जग्गामा नक्कली धनीपूर्जा बनाएको खुल्न आएपछि प्रहरीमा उजूरी परेको थियो ।

नक्कली धनीपूर्जा बनाई पेश गरिएको धितोमा ऋण प्रवाह गरेको खुलासा भएपछि पूर्वसीइओ श्रेष्ठ, अन्य कर्मचारी र भ्यालुएटरलाई अनुसन्धानको दायरामा तानिएको सीआइबीका प्रवक्ता पाण्डेले बताए ।

खोलाको जग्गा धितो राख्ने श्रेष्ठसहित भ्यालुएटर फरार रहेकाले खोजी तीव्र पारिएको छ भने पक्राउ परेका बैंकका अन्य कर्मचारीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

अर्को समाचार:

काठमाडौँ भनेर के गर्नु ? जहाँ बस चढ्न हिउँद नै कुर्नुपर्छ…