संविधान दिवस : संसारकै अग्लो भवनमा यसरी झल्मलायो नेपाली झण्डा … [भिडियो]

तस्बिर : सरोज ढकाल (युएई)

काठमाडौँ : नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित भवनमा नेपाली झण्डा फहराएको छ ।

शुक्रबार नेपालमा भव्य रुपमा मानिएको संविधान दिवसको दिन दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा झल्मलाएको हो ।

युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालको पहलमा त्यहाँको स्थानीय निकाय र सम्बन्धित सरकारी पक्षसँग समन्वय गरि शुक्रबार राती नेपाली समय अनुसार १० : ५५ बजे १ मिनेट बुर्ज खलिफामा नेपाली झण्डा देखिएको नेपाली दुतावासले जनाएको छ ।

गत वर्षको संविधान दिवसमा बुर्ज खलिफामा नेपाली झण्डा फहराउने तत्कालीन कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलको योजना रहेपछि समयमै आवश्यक समन्वय हुननसक्दा अधुरो रहेको थियो ।

दुबईस्थित नेपाल दुतावासले पनि शुक्रबार यसबारे जानकरी दिएर युएईमा रहेका सम्पूर्ण नेपालीलाई सो भवनमा जम्मा हुन आग्रह गरेको थियो ।

शुक्रबार युएईमा सार्वजनिक बिदा समेत परेको र संसारकै ठूलो भवनमा नेपालको झण्डा फहराउने भएपछि वैदेशिक रोजगारीमा रहेका साथै भ्रमणको क्रममा त्यहाँ रहेका नेपालीहरु सो अग्लो भवनमा पुगी खुशी मनाएको हाल युएईमा रहेका काभ्रेका सरोज ढकालले बताए ।

हिजो नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस भव्य रुपमा मनाइएको थियो । संघ , प्रदेश र सबै स्थानीय तहले विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस एवं राष्ट्रिय दिवस मनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गरि देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका थिए ।

अर्को समाचार:

कलेज प्रसाशनसँग वार्तामा बसे प्रकाश चन्द , शुल्क घटाउने र फिर्ता गर्ने विषयमा छलफल जारी …