क्यान्सर ग्रस्त वीपीलाई उपचारका लागि राहदानी दिन राजा विरेन्द्रले इन्कार गरेपछि…

खै, मिति र बार याद भएन । पुनर्स्थापित संसद् र यथावत् सडकमा अनेकन् आशंकाहरू देखिएको थियो।

संसद्को पहिलो बैठक बस्ने तय भएको थियो। अनेकन् विषयहरू चर्चामा थिए । राजतन्त्रको भविष्यका कुराहरू, राजनीतिक व्यवस्थाका भावी स्वरूपका कुराहरू-यस्तै अनेक कुरा तलमाथि भइरहेको थियो। बीपी ले ‘मोदी आइन्’ मा महाभारत युद्ध हुनुपहिले कुरूक्षेत्रको त्रस्त मनोविज्ञानको चर्चा गरे झैं ‘…ठूलो विशाल कुरूक्षेत्रमा पाण्डव र कौरवका सेनाहरू आ-आफ्ना सेनापतिहरूका साथ भेला हुन थालिसकेका थिए ।

पर अग्लो ठाँउमा तर छुट्टाछुट्टै गरी कौरव र पाण्डव पक्षका रानी महारानीहरू, योद्धाहरूका पत्नीहरू र सेविका–सुसारेहरू आसन्न परिणामबाट भयाक्रान्त र सशंकित भएर अनेकन् दुर्संभावनाहरूका उपर चर्चा गरिरहेकी थिइन्…सबै मध्यस्थता र युद्ध रोक्ने प्रयासहरू असफल भयो…! हे भगवान अब के हुन्छ ? के प्रलय हुने हो …..?’

यस्तै माहौल बनेको थियो तेस बखतको राजनीतिक वृत्तमा । यस्ता चर्चामा सबैभन्दा मूल विषय थियो- राजाको के हुने ! राजा माने ज्ञानेन्द्रको ! ऊ बेला हावा, पानी र आगोमा कसैको नियन्त्रण नभएको जस्तो अवस्था थियो । तर पनि, केहीले ‘बेबी किङ्ग’, कोही भने भारत स्वतन्त्र हुँदा ताकाका कश्मीरका राजा हरि सिंहका झै, कतिले फेरि ‘करेक्टेट सेरेमोनियल किङ्ग’…थरि–थरिका आँकलन र अनुमानहरू व्याप्त थिए । नारायणहिटीबाट निकालिएपछि कहाँ बस्ने होला ? सेनाले मान्छन् त ? आदि–आदि !

उपल्लो दर्जाका एकाध अपवादका नेताबाहेक अधिकांश भने राजनीतिका भवितव्यबाट निरपेक्ष थिए । आफैँमा गमक्क थिए । गफ, आशङ्काका खेती गरी बसेका थिए ।

मैले जानेको कुरा इमानका साथ भन्नुपर्दा, हुने कुराको जानकारी गिरिजाबाबु र प्रचण्डलाई यकिनका साथ ज्ञात थियो । किनभने, गिरिजाप्रसाद कोइरालाले यौटा मन बनाउनुभएको थियो र प्रचण्डले भने- उहाँले बनाएको मनमा आफ्नो सफलताको सोपान देख्नुभएको थियो ।

‘प्रचण्ड’ भनेको त्यसबखतको प्रचण्ड ! अहिलेको जस्तो लुंजपूंज, थिलथिलो, ज्ञानेन्द्रीयहरू अनियन्त्रित भएको, मागेर अरूको कोट लगाएको मानिस जस्तो हुन्थेन त्यस बखत । उनको आँखातिर देख्दा सङ्कल्प तथा सपना देखिन्थ्यो, पाइलातिर हेर्दा दह्राे टेकाइ अनि अग्रगतिको आभाष हुन्थ्यो ।

तिन ताकका घटनाहरूको जानकार प्रचण्ड यस कारणले पनि हुनुहुन्थ्यो, किनकि भर्खर–भर्खरै उहाँले गिरिजाबाबुको सङ्कल्प र दृढता बुझ्न थाल्नुभएको थियो । जसबाट स्वयम् उहाँको कांग्रेस र एमालेहरू अनभिज्ञ रहेका थिए तर गिरिजाबाबु भने आफ्ना ध्येयमा निशङ्क हुनुहुन्थ्यो ।

माओवादीलाई एमालेको जतिकै सङ्ख्या दिएर संसदमा प्रवेश गराएको कुरामा सुशील कोइराला असन्‍तुष्ट भई ठस्केको अवस्था थियो । सुशीलजीसँगै अरू धेरै । ‘गिरिजा दाजुले आतङ्ककारीहरूलाई संसदमा हुल्नु भो’ यत्तिमै रन्नभुल्ल भएर रन्थनिएका थिए- गिरिजा बाबुसँगको यौटा जमात । मलाई लाग्दछ, घरभित्रका नोना कोइराला मात्र एक हुनुहुन्थ्यो, जो अँध्यारो टनेलको अर्कोतिर थोरै उज्यालोमा नारायणहिटीको वैभवता ढल्न लागेको देखिइरहनुभएको थियो । शेखर कोइराला परिवरबाट उदीयमान थिए, शशाङ्कको जीवन उरेन्ठेउला काँग्रेसहरूसँग मौजमस्तीकै थियो । यही बेला गिरिजा बाबुसँग नजिकिदै गएका कृष्ण सिटौला बढी नजिक हुनुभयो ।

शायद् उहाँले आफ्नो अदृश्य राजनीतिक मिशनको सफलताका लागि कृष्ण सिटौलाउपर बढी भर गर्दै जानुभएको थियो । किनभने ‘अब मुलुकलाई राजा र राजतन्त्र चाहिन्न’ भने कुरा पहिलो पटक सिटौलामार्फत् नै गिरिजाबाबुले ज्ञानेन्द्रसम्म पुर्याउनुभएको थियो । राजाले चाहेमा थोरै सम्मानका साथ बहिर्गमनको बाटो दिइने कुरामा गिरिजाबाबुको मन बनिसकेको थियो । र, यो सन्देश राजाकोमा पुर्याएर, यसलाई नस्वीकारेमा हुने परिणामको झलक राजालाई सिटौलाले दक्षतासाथ भन्नुभएको थियो ।

यो जिम्मेवारीको निर्वाह बडो सिपालु भई सिटौलाजीले गर्नुभएकोमा गिरिजाबाबुले परोक्षमा पनि सिटौलालाई ‘बडो होसियार रहेछ’ भन्नुहुन्थ्यो । गिरिजाबाबुले कसैलाई ‘बडो होसियार रहेछ’ भन्नु- त्यो मानिसले विश्वासको नोवेल पुरस्कार पाउनुसरह हुने मेरो धारणा रहेको हो । असङ्ख्य आशंकाका बीच, दबाब र प्रभावका बीच, दुर्घटनाहरूको ढक्ढक्याइका बीच निजी रूपमा गिरिजाबाबुले जे चाहनुभएको थियो- भयो । मध्यरातमा, पुनर्स्थापित प्रतिनिधिसभाले राजतन्त्रलाई बिदा गर्याे । एक झट्कामा शाह राजाहरूको स्वप्न बगैँचा सखाप भयो । अचिन्तनका कुरा मूर्त भयो ।

राजतन्त्र समाप्त पारिएको त्यस घटनालाई आज धेरैले राजा ज्ञानेन्द्रसँग दलहरूले गरेको सम्झौताको बर्खिलाफ गरिएको कदम भन्छन । कतिपयले १२ सूत्रीय समझदारीमा राजतन्त्रको अन्त्यको कुरा उल्लेख नरहेको तथा राजासँग धोकाधडी भएको भन्छन् । म त्यता जान चाहन्न ।

मैले बुझेको त के हो भने नेपालमा राजतन्त्रको अन्त्य, न त जनमतसङ्ग्रहको परिपाटीबाट हुनसक्थ्यो । न त, ऊ बखतको सात दलका नेताहरूको बीचमा सहमति नै गरेर । यदि, राजालाई फाल्ने कसैको सङ्कल्प रहेको हो भने उसको अगाडि इतिहासले देखाएको दुईवटा बाटाहरू मात्र थिए ।

जङ्गबहादुरले कोतपर्वपछि भण्डार खालका रक्तरञ्‍जित नालाहरूमा मिल्केको राजाको श्रीपेचलाई तलवारको टुप्पोले उठाएर आफ्नो शीरमा भिर्ने जङ्गबहादुर राणाको बाटो वा माथवरसिंह थापा मारिएको बाटो ।

पहिलो बाटो सैन्यशक्तिको सहयोगले हुने बाटो हो । र, दोस्रो छलको बाटो हो । शक्तिपुञ्‍जसहित मुख्तियार माथवरसिंह थापा मर्नुपरेको बाटो । गिरिजाबाबुसँग छलको सम्बन्ध देखाउनु शायद् मेरानिम्ति प्रियकर उपमा होवइन । नेपालको इतिहास पढेर हैन, सुनेर बुझेको गिरिजाबाबुले दोस्रो बाटोबाट राजालाई गद्दीच्यूत गराउनुभयो ।

गिरिजाबाबुले राम्ररी बुझ्नुभएको थियो कि ती दलहरू, जस्को अन्तरङ्‍ग सोचको निर्माण विदेशी दूतावासहरूमा हुने गर्दछ- ती दलहरूको सहमतिबाट नेपालका राजालाई कसरी फाल्न सकिन्छ र ? त्यस बेलाको निर्णायक शक्ति सातदलीय गठबन्धनमा सबैको प्रतिनिधित्व थियो; भारत, चीन, अमेरिका तथा उत्तर कोरियासम्मको ।

उहाँले अपनाएको बाटोका बारेमा प्रश्नहरू होलान् । दस्तावेजहरू खोतल्दा ‘निरंकुश राजतन्त्रको अन्त्य’ पढ्नेहरू जिल्लिएका छन् कि यो ‘अनर्थ’ कसरी हुन गयो ? यही अनर्थमा गिरिजा प्रसाद कोइरालाले जीवनमा आफ्नो सङ्कल्पको ‘अर्थ’ भेटनुभएको हो । जीवनका अनेकन पक्षहरूका बारेमा दृढ सोचहरू रहे झैं नेपालका राजतन्त्रको बारेमा पनि उहाँको आफ्नै प्रकारको धारणा थियो ।

राजाबारे गिरिजाबाबु किसुनजीभन्दा गणेशमानजीको नजिक हुनुहुन्थ्यो; गणेशमानजी बीपी कोइरालाको । वस्तुत: किसुनजीबाहेक यी तीनै जना नेता पछिल्लो नेपालमा राजतन्त्रको पक्षमा हुन्थेन । बीपी आफ्नो राजनीतिक दर्शनको आधारमा, गणेशमानजी राजाको नेतृत्वमा भएको अनवरत दमनका कारणले र गिरिजाबाबु भने विभिन्न राजाहरूले गरेको अपमान र छलका कारणले । राजसंस्थाबारे किसुनजीको दृष्टिकोण अध्यात्मिक थियो, जुन उहाँले जीवनपर्यन्त राख्नुभयो ।

अहिले पुराना मण्‍डलेहरू, नेपाली राजनीतिमा भारतको हस्तक्षेपका मुखरविरोधीहरू र हालको राजनीतिक व्यथितिका आलोचकहरू वीपी कोइरालाका बढी उद्धरणहरू प्रयोग गर्छन । राष्ट्रिय मेलमिलापका नीतिको चर्चा एवम् अनुसंशा गर्दै, अहिले वीपी हुनुभएको भए राजासँग सहकार्य गरेर राष्ट्रियता जोगाउनु हुन्थ्यो- भन्ने गर्छन् । वीपीका यस्ता नवअनुयायीहरूले बजारमा वीपी साहित्यको बिक्री बढाएका छन् । तर, वस्तुत: तिनीहरू वीपीका विचारबाट वेमतलबी जमातका हुन् ।

तर, यहाँ मेरो लेखनीको मतलब स्पष्ट छ; गिरिजाबाबु रणनीतिक र कार्यनीतिक आधारमा बाहेक कहिल्यै पनि राजाको पक्षमा रहनुभएन ।  आज धेरैले हेक्का राख्दैनन्, २०२६ सालमा गिरिजाबाबु जेलबाट रिहा भएपछि २०६२-०६३ सम्म कहिल्यै पनि राजाबाट धोका, छल र अपमानबाहेकको व्यवहार पाउनुभएन । यसको सविस्तार चर्चा अर्को लामो लेखको विषय हुनसक्छ ।

अहिलेको प्रयोजन यति मात्र हो कि, नेपाली राजनीतिमा आफ्नो विचार निर्माणको प्रारम्भिक कालदेखि नै राजा र राजतन्त्रका विपक्षमा रहनुभएको गिरिजाबाबुले जब मौका पाउनु भयो- राजालाई विस्थापित गराउनुभयो ।

अहिले मानिसले राजालाई बिर्सिसके । राजाहरूका व्यवहार याद गर्न चाहँदैनन् । झिनो रूपमा देखिइने रेशमी पर्दाका पछाडि राजाका तस्वीर झुण्ड्याएर राजाका गुणगान गर्छन् । तर, सत्य त्यस्ताे हैन । मैले यहाँ  इतिहासका दुई वटा चिठ्ठीहरू पोष्ट गरेको छु । क्यान्सरबाट ग्रस्त वीपी कोइराला जेलबाट रिहा भएपछि विदेशमा गई उपचार गराउन चाहनुहुन्थ्यो ।

यसर्थ, राहदानीका लागि तत्कालीन राजकीय परिषद्का अध्यक्ष रहेका वीरेन्द्रका सामु निवेदन गर्नुभएको थियो, २०२७ सालमा । वीरेन्द्रले मानवीय रूपमा राहदानी दिन इन्कार गरेको प्रत्यूत्तर पत्रको कपी पनि यहाँ पोष्ट गरेको छु । पढ्न सकिन्छ । पढ्नेले पढेपछि थाहा पाउँछन्– नेपालमा जनप्रिय भनी चिनिएका राजाको के अतीत थियो ।

यस्ता धेरै दस्तावेजहरू प्रकाशित-अप्रकाशित छन् । राजनीतिक घटनाक्रमहरूलाई स्मृति वा विस्मृतिमा राख्नेहरू जो जीवित छन्- कयौँ घटनाहरूका साक्षी छन् । राजाहरू कस्ता रहे….!

(पूर्वमन्त्री गुप्ताको फेसबुकबाट)

अर्को समाचार:

“युरोप-अमेरिकामा रेस्टुरेन्ट चलाउनेको भन्दा देशमै ठेला व्यवसाय गर्नेको ईज्जत छ”