नेकपा सचिवालय बैठक सकियो , उपनिर्वाचनका लागि दल दर्ताको जिम्मा पौडेललाई …

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले महासचिव विष्णु पौडेललाई उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा निर्देशन दिएको छ ।

स्वास्थ्य उपचारका लागि सिंगापुर गएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि पहिलोपटक बसेको नेकपा सचिवालय बैठकले महासचिव पौडेललाई उपनिर्वाचनका लागि दल दर्ता लगाएत अन्य तयारीको जिम्मा दिएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने”निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुन: दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो,यो काम फत्ते गर्ने जिम्मेवारी महासचिव कमरेड विष्णु पौडेललाई दिइएको छ ।’

उनका अनुसार सांगठनिक एकीकरणका विषयमा टुंगो लगाउन छिट्टै अर्को बैठक बसेर छलफल गर्ने निर्णय समेत आजको बैठकले गरेको छ ।

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको थियो ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलहरुले उपनिर्वाचनका लागि दल दर्ता गर्नुपर्ने छैन तर २०७४ सालको निर्वाचनपछि एकीकरण भई नयाँ नाम कायम भएका र नयाँ दर्ता भएका दलले भने उपनिर्वाचन प्रयोजनका लागि अनिवार्यरुपमा दल दर्ता गराउन पर्नेछ ।

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिकाको प्रमुख एक, गाउँपालिकाको अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४२ गरी ५१ पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित : बुधबार, भदौ २५, २०७६१७:५४
अर्को समाचार:

मदिरा सेवन र बिक्री वितरण गर्ने दुवैलाई रु १० हजार जरिवाना