जिवित छँदै सिक्का निष्काशन गरिएका पहिलो व्यक्ति : जोशीको सम्मानमा तीन थरि सिक्का निष्काशन

ललितपुर – अर्थमन्त्री डा युवराज खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चित्राङ्कित तीन थरि सिक्का लोकार्पण गरेका छन् । रु दुई हजार पाँच सय र रु एक हजारका सिक्का पूर्णरुपमा चाँदीद्वारा तथा रु एक सयको सिक्का चाँदी र तामालगायत अन्य वस्तुको मिश्रणबाट निर्माण भएको बताइएको छ ।

ललितपुर महानगरपालिका परिवारले मंगलबार जोशीको जन्मोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्रीले उक्त सिक्का लोकार्पण गर्दै नेपालका १० कार्यकालका गभर्नर पाइसकेका जोशीजस्ता व्यक्तिलाई सम्मान गर्न पाउनु देशको ठूलो अहोभाग्य भएको र सिक्का पूरै ललितपुरको स्मरण गराउने एक विशेष माध्यम बन्ने बताए ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य पम्फा भुसालले उक्त सिक्कालाई लाखौं पुस्ताले अध्ययन र अवलोकन गर्न पाउने भएकामा खुशी व्यक्त गरे । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जोशीको चित्राङ्कित उक्त सिक्का रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान नेपाल राष्ट्र बैँक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट छापिएकोे जानकारी दिए ।

“वाङ्मय शताब्दी पुरुष जोशी जीवित इतिहास भएकाले उनको सिक्कालाई स्मारिकास्वरुप सदैव कदर गरी राख्नेछौँ”, महर्जनले भने, “उक्त तीन थरिका सिक्कालाई तुरुन्तै नेपालभर प्रचारप्रसार गर्ने लक्ष्य महानगरपालिकाको छ ।”

महानगरपालिकाले ती सिक्कालाई सर्वसाधारणको हातमा सजिलै पुर्याउन महानगर –३ का वडाध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा एक सदस्यीय टोली गठन गरी वितरण गर्ने भएको छ ।

सो अवसरमा जोशीका नाममा एक अक्षय कोष स्थापना, हुलाक टिकट प्रकाशन, सडक नामकरणलगायत जोशीद्वारा लिखित ‘सेतो चैत्य’ पुस्तक अङ्ग्रेजीमा तथा ‘चारुमती’ र ‘कात्तिक नाच’ पुस्तक नेपालीमा प्रकाशन गरिने जानकारी दिइएको छ ।

प्रकाशित : बुधबार, भदौ २५, २०७६१६:१२
अर्को समाचार:

ठूला बुबालाई अन्तिम श्रद्धाञ्जलि दिँदै भावुक बने प्रचण्ड …