प्लाष्टर गर्ने क्रममा तेस्रो तल्ला माथिबाट खसेर भक्तपुरमा १ जनाको ज्यान गयो, अर्का १ घाइते !

भक्तपुर – भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार एकजनाको ज्यान गएको छ ।

बाँसको खट भाँचिदा खसेर दुईजना घाइते भएको र घाइतेमध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

अर्का घाइते भारत घर भई काभ्रे बनेपामा नै बस्ने १८ वर्षीय सहजात अन्सारीको ट्रमा सेन्टर काठमाडौँ सिफारीश भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु
काठमाडौँ उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ ।

डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफैं खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा केदार सेञ्जुरीले जानकारी दिए । डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गर्दछ । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले सेवा शुरुआत गरेको जनाएको छ ।

वीर अस्पतालले पनि आजदेखि डेङ्गु रोगको परीक्षण शुरु गरेको छ । परीक्षण गर्ने कीट आफैँ खरीद गरी वीर अस्पतालले आजदेखि डेङ्गु परीक्षण शुरु गरेको हो ।  उनले भने, “डेङ्गुको आशङ्का गरेपछि थप परीक्षणका लागि टेकु पठाउथ्यौँ । टेकुले पनि धान्न सक्ने अवस्था देखिएन । बिरामीको सङ्ख्या बढ्न थाल्यो । भर्ना भएका बिरामीलाई पनि लक्षण देखिन थाल्यो । त्यसैले कीट ल्याएर यहीँ परीक्षण गर्न थाल्यौँ ।”

अस्पतालले आकस्मिक र बहिरङ्ग दुवैतर्फ आउने बिरामीको सो रोग परीक्षण हुने व्यवस्था मिलाएको छ । बिरामीको सुविधाका लागि अस्पतालले रु ५०० मा कीटद्वारा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ । विसं २०७५ वैशाख महीनामा धरानमा देखापरेको सो रोग हाल देशका ५० भन्दाबढी जिल्लामा देखा परिसकेको छ । यसबाट मुख्य शहर काठमाडौँ, पोखरा, विराटनगर, धरान, चितवनमा प्रकोपका रुपमा देखापरेको छ ।

एकमात्र सरुवा रोग अस्पताल टेकुमा डेङ्गुको आशङ्कामा स्वास्थ्य परीक्षण गराउन आउने बिरामीको सङ्ख्या दैनिकरुपमा अत्यधिक वृद्धि भएको छ । बिहीबार मात्र करीब ४०० को स्वास्थ्य परीक्षण गर्दा १२३ जनामा डेङ्गु रोगको सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यरत चार जना चिकित्सकसहित अन्य ११ जना स्वास्थ्यकर्मी स्वयं डेङ्गु रोगको सङ्क्रमण भएका अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिए। अस्पतालमा डेङ्गु रोगीका उपचार गर्न २४ श्यया मात्र रहेको छ । अस्पतालले थप २० श्यया थप गर्ने तयारी गर्दैछ ।

प्रकाशित : शनिबार, भदौ २१, २०७६०८:५५
अर्को समाचार:

भारतको चन्द्रयान-२ हरायो !