सिंगापुरबाट फर्केलगत्तै प्रधानमन्त्री ओलीले प्रचण्डलाई भेटे ..

काठमाडौँ : शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बीच भेटवार्ता भएको छ ।

करिब २ साता सिंगापुरमा स्वास्थ्य उपचार गराई स्वदेश फर्किएकै दिन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष दाहालसँग भेट गरेका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पछिल्लो राजनीतिक गतिविधिबारे छलफल गरेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री सिंगापुर जानुअघि पार्टी अध्यक्षको ‘कार्यकारी’ अधिकार पाएका प्रचण्डले ओलीसँगको भेटमा पार्टी एकताको सकिएको र बाँकी कामबारे समेत जानकारी गराएको बताइएको छ ।

ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहँदा प्रचण्डले पार्टीको सचिवालय बैठक आव्हान गरि जनवर्गीय संगठनको सहइन्चार्ज र चार जना केन्द्रीय सदस्य थप गरि अन्तरपार्टी निर्देशन–२ समेत जारी गरेका थिए।

यसैबीच अध्यक्ष प्रचण्डले डेंगुको संक्रमण देखिएपछि ग्राण्डी अस्पतालमा भर्ना भएका कृषि मन्त्री चक्रपाणि खनालको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका छन् । लगातार ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्नेलगायतका लक्षण देखा परेपछि मन्त्री खनाल गत बुधबार अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित : शुक्रबार, भदौ २०, २०७६१५:५०
अर्को समाचार:

नदी पार गर्दा र कुवामा डुबेर दुईको ज्यान गयो !