प्रधानमन्त्रीको निर्देशनअनुसार सिंहदरबारभित्र सफाइ अभियान तीव्र, रूप फेरिँदै

काठमाडाैं : सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितको उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो ।

मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङरोगनसहित सबै मन्त्रालयमा सफाइ अभियान सम्पन्न गरिसक्न तथा परिसरभित्र रहेका सबै पुराना सवारीसाधनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।

त्यसअनुसार अहिले सबै मन्त्रालय आयोग र निकायले अभियान चलाइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए । यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। खबर शुराेजंग पाण्डेले लेखेका हुन्।

काम लाग्ने पुराना सवारी स्थानीय तहलाई
गत ३१ भदौमा मुख्यसचिव रेग्मीको नेतृत्वमा बसेको सिंहदरबार परिसर व्यवस्थापनका सन्दर्भमा बसेको बैठकको २६ बुँदे निर्देशन दिएको थियो ।

त्यसपछि रेग्मीकै नेतृत्वमा बसेको बैठकले सिंहदरबारभित्र रहेका पुराना सवारीसाधनको आवश्यकतानुसार मर्मत–सम्भार गरेर चलाउन र स्थानीय तहलाई हस्तान्तरण गर्न भनिएको थियो ।

सो निर्देशनअनुसार अहिले ७० वटाजति पुराना सवारी मर्मत–सम्भारबाट चलाउन सकिने र एक सयभन्दा बढी सवारी लिलाम गर्ने गरी सबै मन्त्रालय र आयोगले तयारी गरिरहेका छन् । प्रधानमन्त्री कार्यालयका सहसचिव प्रवक्ता कुँवर नेतृत्वको टोलीले सफाइ अभियानको नियमित अनुगमन गरिरहेको छ ।

रङरोगन, हरियाली प्रवद्र्धन, सडक व्यवस्थापन
सिंहदरबारभित्र अहिले सबै मन्त्रालय र निकायले आ–आफ्ना भवनभित्र, बाहिर, वरपर, भर्‍याङ, बरन्डाको पूर्ण सफाइ गर्ने तथा भवनको अगाडि–पछाडि, दायाँ–बायाँ हरियाली प्रवद्र्धन गर्ने काम भइरहेको छ ।

त्यस्तै, एकीकृत पार्किङको अस्थायी व्यवस्था, सडकमा रोड मार्किङ र मर्मत–सम्भारको काम तीव्र पारिएको छ ।

सिंहदरबारको इतिहास म्युजियम बनाउने योजना
मुख्यसचिव नेतृत्वको उच्च अधिकारीको बैठकले संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी सिंहदरबारको इतिहाससहितको म्युजियम (संग्रहालय) बनाउन निर्देशन दिएको थियो ।

सफाइ अभियानसँगै निर्देशनअनुसार संग्रहालयको काम पनि सम्पन्न हुने प्रवक्ता कुँवरले जानकारी दिए ।

झाडी फाँडेर मैदान बनाइँदै
अहिले सिंहदरबारभित्र गृह मन्त्रालयको पश्चिमतर्फ चौर सम्याउने, परराष्ट्र मन्त्रालय पछाडिको झाडी सफाइ गरेर सम्याउने काम भइरहेको छ । जग्गा सम्याएर ठाउँ खाली भएपछि सहरी विकास मन्त्रालयले सिंहदरबार परिसरको विस्तृत गुरुयोजना तयार गर्ने तयारी गरेको छ ।

अर्को समाचार: