कार्यक्रम बिथोल्न पौडेल पक्षिय नेता रक्सी खाएर मञ्चमा गएपछि देउवा पक्षद्वारा कुटपिट !

काठमाडौँ : नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ)ओखलढुंगाको १२औं जिल्ला अधिवेशन उदघाटन कार्यक्रममा नेताहरूबीच हात हालाहालको स्थिति सिर्जना भएको छ।

नेविसंघ ओखलढुंगाको अधिवेशनको उदघाटन कार्यक्रममा आसन ग्रहणको विषयमा विवाद हुँदा नेताहरुबीच मञ्चमै कुटाकुट भएको हो। सोमबार साँझ भएको झडपमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता बालकृष्ण दाहाल घाइते भएको बताइएको छ।

झडपका क्रममा घाइते भएका दाहालसहितको समूहले रक्सी पिएर मञ्चमा गई कार्यक्रम विथोल्न खोजेपछि सभापति शेरबहादुर देउवा समूहले उनीहरुमाथि हातपात गरेको सहभागीले जनाएका छन्। कुटपिटबाट सामान्य घाइते भएका दाहालले सामुदायिक अस्पतालमा परीक्षण गरेको बताए।

अधिवेशनको उदघाटन कार्यक्रम बिथोल्न खोज्ने अर्का व्यक्ति ओखलढुंगाको पूर्वसभापति समेत रहेकी गोमा केसीमाथि समेत कुटपिट भएको छ। घटनापछि पत्रकार सम्मेलन गर्दै आफूमाथि वर्तमान जिल्ला सभापति प्रदीप सुनुवारले कुटपिट गरेको उनले आरोप लगाएकी छिन्।

नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने माग राखेको पौडेल समूहले जिल्ला सभापति प्रदीप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि कार्यक्रम बिथोल्ने प्रयास गरेको बताइएको छ।

उक्त झडपपछि असन्तुष्ट पक्षले कार्यक्रम बहिस्कार गरेका छन् भने नेताहरूले हंगामा मच्चाएपछि विद्यार्थीसमेत दुई पक्षमा विभाजित भएको बुझिएको छ।

पौडेल पक्षका नेताहरुको विरोधका बावजुदपनि अधिवेशनको बन्द सत्र भने सञ्चालन भने संचालन भएको छ।

अर्को समाचार: