“ऐया-ऐया” भन्दै गरेका १३ जनालाई जिउँदै ईट्टाभट्टामा हालेर जलाइयो ! प्रत्यक्षदर्शी यसो भन्छन्…

काठमाडौँ – पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर ज्यान लिएको आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहमद अफताब आलम पक्राउ परेका छन्। रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलमलाई रौतहट प्रहरीले आइतबार पक्राउ गरेको हो।

घटनाको लगभग १२ वर्ष पछि मात्रै आलम पक्राउ परेका हुन्। मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

खास के हो घटना ?

पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने योजनामा थिए मोहमद अफताब आलम। जसको लागि उनले ठूलै योजना बनाए । बम समेत विष्फोट गराएर बुथ क्याप्चर गर्ने उनको योजना त्यति बेला असफल भयो, जब बम बनाइरहेकै ठाउँमा बम विष्फोट भयो।

साविकको राजपुरफरहदवा गाविस ४ स्थित शेख इद्रिसको(आलमका काका) घरमा बम बनाउने काम भैरहेकै अवस्थामा बम विष्फोट भएको थियो। विष्फोट पश्चात घर ध्वस्त भयो भने त्यहाँ रहेका दर्जन भन्दा बढी व्यक्तिहरु घाइते भए।

घाइते मध्ये केहिको अवस्था सामान्य थियो भने केहिको गम्भीर। धेरै जस्तो अस्पताल पुगेको भए बाँच्ने अवस्थामा थिए। तर बम विष्फोट पश्चात आफ्नो पर्दाफास हुने डरले आलमले त्यसो हुन नै दिएनन्।

घाइतेहरुलाई अस्पताल पुर्याउनुको साटो आलमले घाइतेहरुलाई नजिकैको इँटा भट्टामा लगेर जलाउन आफ्ना आसेपासेहरुलाई निर्देशन दिए। जसअनुरुप १३ जनालाई जिउँदै जलाइयो। प्रतक्ष्यदर्शीहरुका अनुसार घाइतेहरुले आफ्नो उपचार आफै गर्छौं भन्दा-भन्दै पनि जबरजस्ती इँटा भट्टामा लगेर जलाइएको थियो।

अदालतबाट आदेश हुँदा पनि पक्राउ परेका थिएनन् आलम

घटना पश्चात पिडितपक्षले जिल्ला प्रहरी कार्यालय रौतहटमा आलमसहित उनका भाई मोहम्मद मोहताब आलम, शेख भदई, शेख मोविन आलम, शेष सराजविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए।

जिउँदै पोलेको देख्ने स्थानीयले समेत बयान दिएका थिए। तैपनि रौतटह प्रहरीले किटानी जाहेरी लिन मानेको थिएन। आलमको राजनीतिक पहुँचकै कारण त्यसबेला प्रहरीले जाहेरी लिन नमानेको पिडितपक्षको आरोप छ।

इन्सेक, नेपाल वार एशोसिएशन तथा मानव अधिकार आयोगले स्थलगत अध्ययन गरी न्यायिक छानबीन आयोग गठन गर्न समेत माग गरेसँगै अगाडी बढेको न्यायिक प्रक्रियाले पनि तत्काल पिडितपक्षलाई न्याय दिलाउन सकेन।

पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दियो। अदालतले पक्राउ गर्न आदेश दिएको कयौ वर्ष पछि मात्रै आइतबार आलम पक्राउ परे।

आलमको राजनीति

मोहमद अफताब आलमको जन्म २०१९ असार ५ गते रौतहटमा भएको हो। आलमले २०३४ सालबाट राजनितिक यात्रा शुरु गरेका थिए। नेपाली कांग्रेसमा रहेर राजनीति गर्दै आएका आलमको रौतहटमा राम्रै पकड छ।

आलम दुई पटक जिल्ला सभापति समेत भैसकेका नेता हुन्। केन्द्रियस्तरमा पनि आलमको राम्रो हिमचिम रहेको बताउने गरिन्छ। आलम एक पटक पार्टीको केन्द्रिय सदस्य समेत भैसकेका व्यक्ति हुन्।

आलम २०५३ सालको उपनिर्वाचनमा रौतहट २ बाट विजयी भएका थिए। सो निर्वाचन क्षेत्रबाट आलम २०५६ र २०६४ सालमा पनि विजयी भएका थिए। २०७० सालको संबिधान सभाको निर्वाचनमा भने उनी पराजित भएका थिए।

तर ०७४ सालमा सम्पन्न निर्वाचनमा भने आलम पुन : सोहि निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। ६ पटक बिभिन्न मन्त्रालयहरु सम्हालिसकेका आलमले राजनीतिको नाममा लास बिच्छाउन समेत पछि नपर्ने गरेको बताउने गरिन्छ।

मिडियामा प्रतक्ष्यदर्शी

बम विस्फोट प्रकरणमा ज्यान जोगाउन सफल राजपुर फर्दवास्थित जोबेर मियांको घरमा काम गर्ने सराजुल मोहम्मदले २०६५ साल वैशाखमा रिपोर्टर्स क्लब नेपालमा आए घटना बारे विभिन्न खुलासाहरु गरेका थिए।

बमको छर्राले घाइते भएका तीन जनालाई इट्टाभट्टाको चिम्नीमा हालिदिएको आफ्नै आँखाले देखेको उनको दावी थियो। बमको छर्रा लागी घाइते भएकालाई चिम्नीमा हाल्दा केहि प्रहरीहरु समेत उपस्थित रहेको उनको दावी थियो।

उनले रिपोर्टर्स क्लब नेपालमा पुगेको गरेको खुलासा निम्न छ।

सराजुल मोहम्मद: म सुरक्षित ठानेर वैशाख ४ गते रौतहटबाट काठमाडौं आएको हुँ । बमको छर्राले घाइते भएका तीन जनालाई इट्टाभट्टाको चिम्नीमा हालिदिएको आँंखैले देखें । मृतकका परिवारलाई जानकारी गराएकाले रौतहटमा बस्नु खतरा ठानें ।

बमको छर्रा लागी घाइते भएकालाई चिम्नीमा हाल्दा केही प्रहरी पनि संलग्न थिए । घटनामा मारिएकामध्येका ओसे अख्तर मिया उनकै मालिकका छोरा हुन् । मियालाई मोहम्मद अफतावका सहोदर भाई मेहताव र सराजसहित अन्य दुई अपरिचितले घरमै मोटरसाइकल लिई चुनावी प्रचारप्रसारका लागि भन्दै लिन आएका थिए । रोजागरीका सिलसिलामा दुई वर्ष दुबई बसेर आएका मिया उनीहरुसँगै फर्दवातर्फ लागेपछि म पनि साइकल चढी त्यसतर्फ लागेको थिएँ ।

२७ चैत २०६४ मा रौतहटको फर्दवास्थित मोहम्मद अफताव आलमको निर्देशनमा गोठमा बमको थुप्रो राखिएको थियो । चुनावलाई लक्षित गरी हतियार तयार गरिएको थियो । गोठमा ३०–३५ जना बिडी र चुरोट पिएर हाँसो ठट्टा गर्दै गफमा मस्त थिए । साँझको छ बजेतिर गोठमा अचानक बम विष्फोट भयो । हाँसो ठट्टा रुवावासीमा परिणत भयो । घाइतेहरु चिच्याउदै बाहिर निस्कन थाले । बमको छर्रा लागी घाइते भएकाहरु रगतले लतपतिएर निस्कन थाले ।ओसे अख्तर मिया र पिन्टुलाई धुँवाले मुखै कालो बनाएको थियो । मियाको बायां तिघ्रा र दाहिने पाखुराको मासुको चोइटो उछिट्टिएको थियो भने पिन्टुको दुवै हातको मासुको चोक्टा उछिट्टिएको तड्कारो देखिन्थ्यो ।

मियालाई मैँले उद्धार गर्न खोजें । समातेर लान खोज्दा घटनास्थल आइपुगेका अफतावका मान्छेहरुले लान दिएनन् । सराजुलाई पनि बस्न भनेपछि उनी भागे । भागेर छेवैको गहुँ खेतमा लुकेर रात बिताएँ । रातभर गहुँ खेतमा लुकेका पिन्टुले अत्याशलाग्दो दृश्य हेरिरहे । मियाँ सहितका व्यक्तिलाई चिम्नीमा हालिएको दृश्य देखे । चिम्नीमा हाल्न लाग्दा रोइकराई सुनिन्थ्यो । आफ्नै खर्चमा उपचार गर्छौं छाडिदेऊ घर जान्छौं भन्दै हात जोडिरहेका थिए । अब कहाँ घर जाने भन्दै पालैपालो चिम्नी भित्र हालिदिए । रौतहटकै जयनगर घर भएका तर नाम थाहा नभएकालाई पनि चिम्नीमा हालेपछि आत्तिएर त्यहाँबाट पनि भागें । घटनामा अन्यलाई चिम्नीभित्र हालिएको थियो ।

बम विष्फोटपछि भारत घर भएका केही मान्छे चुनावका समयमा रौतहट छिरेको आफन्त हराएको भन्दै खोजीका लागि आइरहन्थे । आफन्त खोज्न आउनेलाई मारिइसकेको बताइदिए । मृतक पिन्टुका बाबु श्रीनारायण सिंह पनि छोरा खोज्न भारतको मोतिहारी, सितामढीलगायतका स्थानमा पुगे । रहमान क्लिनिकमा फर्दवा बमकाण्डमा घाइते सफिउद्यिन भन्ने व्यक्ति भेटिएपछि उनले वास्तविकता थाहापाएका थिए । छोरा कहीं फेला नपरेपछि घटनामा संलग्नलाई कारबाहीका लागि पहल गर्दै हिडेको थिए ।

सराजुल मोहम्मदले गरेको खुलासा रिपोर्टर्स क्लब नेपालको वेबसाइटमा प्रकाशित छ

प्रकाशित : आइतबार, असोज २६, २०७६१५:०५

नेकपा सचिवालय बैठक जारी