काठमाडौँ – फागुन महिनामा लगातार उकालो लागेको सुनको भाउमा आइतबार भारी गिरावट आएको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्डनै कायम गरेको थियो। तर, आइतबार भने सुनको मूल्यमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भैरहेको छ।
यस्तै तेजाबी सुनको मूल्यमा पनि शुक्रबारको तुलनामा १२ सयले गिरावट आएको छ। आइतबार तेजाबी सुन प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार २ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ७८ हजार ९ सय रुपैंया थियो। यस्तै आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ८ सय ८० रुपैयामा खरिद बिक्री भएको चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँ कायम भएको छ।