विवाह रोकेर कोरोना संक्रमितको उपचारमा होमिए, कोरोनाले नै लियो ज्यान !

एजेन्सी – कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघिसकेको छ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। भाइरस संक्रमितको उपचारका लागि खटिएका डाक्टरहरुको समेत ज्यान गएका समाचारहरु आउने गरेका छन्।

यसै बीच आफ्नो विवाह नै स्थगित गरेर कोरोना भाईरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको पनि कोरोना भाइरस संक्रमणकै कारण ज्यान गएको छ।

ज्यान गुमाउनेमा २९ वर्षीय चिनियाँ डाक्टर पिङ यिनहुआ रहेका छन्। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार उनको बिहिबार ज्यान गएको हो।बिरामीको उपचार गर्दागर्दै उनमा कोरोना भाइरसको संक्रमण सरेको थियो।

डाक्टर यिनहुआले कोरोना भाइरस चीनमा फैलिएपछि आफ्नो विवाह समेत स्थगित गरेर संक्रमितहरुको उपचारमा खटिएको बताइएको छ। बताइएअनुसार, गत फेब्रुअरी १ तारिखका दिन हुने भनिएको विवाहलाई स्थगित गरेर उनी संक्रमितहरुको उपचारमा खटिएका थिए।

उपचार गर्दा-गर्दै कोरोना भाइरसको संक्रमण सरेपछि डा.यिनहुआलाई गत जनवरी २५ तारिखमा अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य झनै बिग्रिएपछि उनलाई ३० तारिखमा जिनयिनतान अस्पतालमा रिफर गरिएको थियो। तर, बिहिबार राति उपचारका क्रममा उनको ज्यान गयो।

शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुग्नुको साथै ७५ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन् ।

यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र ज्यान गुमाउने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित : , ०, ००६:३४

मनकारी बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिको पत्र