काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री समक्ष राजिनामा दिएसँगै दुई मन्त्रालयमा मन्त्री बिहिन बन्न पुगेको छ। बास्कोटाको राजिनामा पश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय नेतृत्व बिहिन बन्न पुगेको हो।
केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद विस्तार गर्दा बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका थिए भने केहि समय अगाडी मात्रै उनलाई सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो।
बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा चिन्छिन्। यहि कारणले गर्दा सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी पाएका थिए। उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ओलीले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी बास्कोटालाई दिएका थिए। बास्कोटाले राजिनामा दिएसँगै यी दुई मन्त्रालय मन्त्री बिहिन बन्न पुगेको छ।
सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको अडियो बिहिबार बिहान सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएसँगै बास्कोटाले दिउँसो राजिनामा दिएका हुन्।
बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी गराएका छन्।
उनले ट्वीटमा भनेका छन्, “मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु ।”