काठमाडौँ, फागुन ८ । दोलखा भीमसेनलाई बिहीबार बिहान करिब एक घण्टासम्म पसिना आएको छ । दिउँसोको राजपूजा गर्दा गर्दै पसिना आएपछि मन्दिरमा स्थानीयबासीको भीड लागेको थियो ।
यसरी दोलखा भीमसेनलाई पसिना आउनुलाई देशमा अनिष्टको संकेतका रूपमा लिइन्छ । भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएपछि पूजा गर्न सुरु गरिएको छ ।
अहिलेसम्म प्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १७ औ पटक पसिना आएको छ । भीमेश्वरको शिलाको दायाँ पट्टिबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।
भीमसेनको शिलामा आज बिहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जनाएका छन् ।
ओझेलमा अनौठो गुफा
-पवित्रा घिमिरे
पाल्पाको रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष फेला परेको अनौठो गुफाको प्रचार गरी भ्रमण वर्षमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याइएको छ ।
स्थानीयले बाहिरी भागमा सानो दुलो देखेपछि खोज गर्ने क्रममा उक्त गुफा पत्ता लागेको स्थानीय दिनेश कुमालले बताउनुभयो । विसं २०७५ को वैशाखमा स्थानीयवासीले फेला पारेको गुफाभित्र, मन्दिर, शङ्ख, शिवलिङ्ग, हात्तीको चित्र, भगवानका विभिन्न आकृति, पानीका धारा, पानीपोखरीलगायतका आकृति देख्न सकिन्छ ।
तीन तहका कोठा रहेको गुफा नजिकै वशिष्ठ, कौशिक, दुम्सी, सातपत्रे र चमेरेगुफासमेत छ । वशिष्ठ गुफाका बारेमा पुराणमा समेत उल्लेख भएकाले पनि धार्मिक हिसाबले महत्वपूर्ण मानिने स्थानीय मीनराज रेग्मीले बताउनुभयो । विभिन्न भगवान्का आकृति, उनीहरुको बासस्थान रहेको अनुमान लगाउन सकिने दृश्यले जो कसैलाई आकर्षित गर्छ । यसको प्रचार भने हुन सकेको छैन । करिब १५० मिटर लम्बाइको गुफाभित्र करिब एक हजार मानिस अट्ने आँकलन गर्न सकिन्छ । त्रेता युगमा भगवान् रामले भ्रमण गरेको तथ्यसँग जोडिएको रामपुरमा भेटिएको गुफा पनि यसकै आकृतिका रुपमा लिन सकिन्छ ।
भगवान् रामसँग जोडिएको रामघाट, रामचेबन, रानीवन, सीताकुण्ड, रानीवासलगायतका ठाउँको नामाकरण गरिएको छ । भगवान्ले स्नान गरेका, पानी बाण हानेर निकालेका, खाना पकाएका चुलो, मन्दिरलगायतका स्थानले पनि रामपुर क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
प्रशस्तै चमेरा भेटन सकिने गुफाको संरक्षण संवद्र्धन गरी यसको प्रचार गरेमा थुप्रै पर्यटक भित्र्याउन सकिने आधार छ । खुला राख्दा गुफाभित्रका आकृति चोरी हुने र गुफाको अस्तित्व हराउने डरले गुफा बन्द गरेर राखिएको सामुदायिक रानीवन तथा बडबान वन उपभोक्ता समितिका सचिव हमिदअलि मियाँले जानकारी दिनुभयो । सचिव मियाँले रामपुर नगरपालिकामा गुफाको प्रचारका लागि अनुरोध गरेको बताउनुभयो ।
गत वर्ष गुफा फेला पारेपछि हेर्नेहरुको भीड लागेको र गुफामा पस्ने ठाउँ साँघुरो भएकाले केही दुर्घटना हुने डरले स्थानीय प्रशासनले गुफा बन्द गरेको हो । प्राकृतिक सुन्दरताले भरिएको पाल्पा अनेकन पर्यटकीय गन्तव्यका आधार भएपछि कतिपय अझै संरक्षण संवद्र्धनका कारण ओझेलमा छन् ।
भ्रमण वर्ष २०२० सफल बनाउन प्याराग्लाइडिङ्, जलयात्रा, यहाँका जातजाति धर्म, संस्कृतिअनुसारका वेषभूषा र कला, संस्कृति प्रदर्शन तयारी भएको रामपुरमा गुफाको प्रचारप्रसार गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ । कालीगण्डकी करिडोर निर्माणको काम तीव्र भइरहँदा लुम्बिनी आएका पर्यटक, कालीगण्डकी करिडोर हुँदै कास्कीको पोखरा तथा चितवन सौराहा जान नजिक पर्छ ।
रुपन्देहीबाट पाल्पा, स्याङ्जा हँुदै कास्की पोखराबाट चितवन पुग्ने पर्यटकलाई यहाँका पर्यटकीयस्थलको प्रचार गरेर यही रामपुरको बाटो हँुदै पठाउने व्यवस्था मिलाउनुपर्ने पाल्पाका उद्योगी व्यवसायीको धारणा भए पनि उचित व्यवस्थापन भने मिलाइएको छैन । रामपुर पर्यटन प्रवद्र्धन समितिका संयोजक तथा रामपुर नगरपालिकाका नगरप्रमुख थापाले यस क्षेत्रमा पर्यटक भित्र्याउन कास्कीमा होटल व्यवसायीसँग समन्वयात्मक कार्यक्रम गरिने जानकारी दिनुभयो । उहाँले रामपुरको अनौठो गुफाको प्रचारप्रसार पर्यटन महोत्सवभन्दा अगाडि नै यसको काम गर्ने सोच भए पनि विज्ञहरु रामपुर ल्याउन नसकिएका कारण रोकिएको बताउनुभयो । नगरप्रमुख थापाले नेपाल पर्यटन बोर्डसँग पटक–पटक कुरा भए पनि गुफासम्बन्धी विज्ञ थोरै सङ्ख्या भएका कारण बोलाउँदा समयमा नआएको बताउनुभयो ।
जोखिमका हिसाबले गुफा अहिलेलाई बन्द गरिए पनि यसको विकास र प्रचारप्रसारमा स्थानीय सरकारको पहल कायमै रहेको नगरप्रमुख थापाको भनाइ छ । प्रचारका कारण रामपुर आउने पर्यटक मानिसले नै तयार पारेको तालपोखरा पुग्छन् । प्रचारप्रसार समितिका संयोजक बुद्धिप्रकाश रेग्मीले रामपुुर नगरपालिकाले नगरक्षेत्रका यी र यस्ता गुफाको प्रचारप्रसारमा ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।