काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ‘घुस बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन्।
सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसंगै बास्कोटा विवादमा मुछिएका छन् ।
मन्त्री बाँस्कोटा सेक्युरिटी प्रेस खरिदमा रकम बार्गेनिङ गरेको विवादमा मुछिएका छन्। सार्वजनिक अडियोमा स्वीक कम्पनीको एजेन्ट र बास्कोटा बीच सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको हो।
आज बिहान गृहमन्त्री रामबहादुर थापा र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचण्ड निवास पुगेका थिए र प्रचण्ड निवासमा भएको छलफलपछि, बाँस्कोटा प्रकरणकै विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्तामा यसै विषयलाई लिएर भेटवार्ता हुने बुझिएको छ।
भेटबारे बुझ्न खोज्दा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार ‘डाक्टर राजन भट्टराई’ले, ‘प्रकरणबारे प्रधानमन्त्रीलाई जानकारी छ। मन्त्री बाँस्कोटा काठमाडौं फर्किँदै हुनुहुन्छ। उहाँ आएपछि कुराकानी हुनेछ’ भन्ने जानकारी दिएका छन्।
सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि कमिसनमा बार्गेनिङ गरेको अडियो प्रमाणनै सार्वजनिक भए पछि सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको खुलासा गरेका छन्। ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्’ भन्दै मिडियालाई जानकारी दिए।
सार्वजनिक भएको अडिओ रेकर्डमा बाँस्कोटाले, ती फोनमा बोल्ने मध्ये एकजना व्यक्ति आफू नै भएको भने घुमाउरो पारामा स्वीकार गरेका छन्।
‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, काम नभए मोबाइलमा रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। आफुले काम गर्न नमाने के हुन्छ देखिहाल्नु भयो। त्यो काम मैले गरे कि गरिनँ हेर्दा होला’ उनले भने।
उनले आफूलाई त्यस्ता धेरै प्रस्ताव आउने गरेको पनि खुलाएका छन्। ‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन्। आउने जति सबै मान्ने हो भने १० अर्ब जतिको प्रस्ताव त आयो होला’, उनले भने।
सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सो अडिओ टेपको तथ्यको बारेमा आज बेलुका ३ बजे हुने सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्ने बताए।