द्वन्द्वकालमा सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह

काठमाडौँ – बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दशवर्षे द्वन्द्वमा व्यक्ति बेपत्ताका कारण सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगमा नयाँ पदाधिकारी आएपछि आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष युवराज सुवेदीले व्यक्ति बेपत्ता भएकाले सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरे ।

“विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म भएको घटनामा बेपत्ता व्यक्तिका कारण कसैको जग्गा रोक्का भएको छ, त्यसमा केही समस्या भएमा आयोगमा सम्पर्क गर्नुस, आयोगले सहयोग गर्छ”, अध्यक्ष सुवेदीले भने। आयोगमा सो अवधिमा बेपत्ता पारिएका व्यक्तिको दुई हजार ५०६ उजुरी परेको छ । उजुरीउपर अघिल्लो पदाधिकारीले ६४ जिल्लाको विस्तृत अध्ययन सकेको थियो भने ११ जिल्लामा अध्ययन बाँकी छ ।

नौ महिनाको रिक्ततापछि आयोगमा पदाधिकारी नियुक्ति भएको छ । गत चैत मसान्तबाट नै पदाधिकारीको समय सकिएको थियो तर पदाधिकारी सिफारिस समितिले गत माघ ४ गते आयोगमा पदाधिकारी सिफारिस गरेको थियो । आयोगमा नयाँ पदाधिकारीले बाँकी जिल्लाको काम रोल्पाबाट अध्ययन शुरु गर्ने तयारी गरेको छ । पाँच अनुसन्धान अधिकृत नियुक्ति गरेर चार समूह बनाएर बाँकी जिल्लाको अध्ययन सम्पन्न गर्ने अध्यक्ष सुवेदीले जानकारी दिए ।

अध्यक्ष सुवेदीले द्वन्द्वकालीन घटनासँग जोडिएका घटनामा उच्च ओहदाका र सामान्य सबै अनुसन्धानको दायरमा ल्याउने जानकारी दिँदै शङ्कास्पद कुनै स्थान भएमा त्यसको छिट्टै उत्खनन गर्ने बताए । आयोगको गत माघ २६ गते बसेको बैठकले सङ्क्रमणकालीन ऐन संशोधन गर्न कानून मन्त्रालयलाई सुझाव बुझाइसकेको छ ।

प्रकाशित : , ०, ०१२:४२

अब काम अलपत्र पारेर ठेकेदार भाग्न सक्दैनन् – पृथ्वीसुब्बा गुरुङ !