काठमाडौँ, फागुन ६ । कांग्रेस नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ । नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति ज्ञवालीको मंगलबार बिहान करिब तिन बजे ललितपुरको अल्का अस्पतालमा निधन भएको हो।
ज्ञवाली २०४८ सालमा भएको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट सांसद भएका थिए । ७७ वर्षको उमेरमा निधन भएका सभापति ज्ञवाली केही समयदेखि अल्सर रोगबाट पिडित थिए । ज्ञवालीको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुरले दुःख व्यक्त गरेका छन्। ज्ञवालीको निधनको खबरले आफुलाई अत्यन्त दु:खित र स्तब्ध बनाएको भन्दै विज्ञप्ती जारी गरेका थिए ।
स्वास्थ्य बीमा कार्यक्रम पर्वतमा शुरु भो
स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम यहाँ शुरुआत भएको छ । हालसम्म सो कार्यक्रम देशका ५२ जिल्लामा कार्यान्वयनमा आइसकेको छ ।
सोमबार जिल्लाका सातवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागितामा सदस्यता दर्ता शुभारम्भ गरिएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेललाई ‘स्वास्थ्य बीमा सदस्यता परिचयपत्र’ वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
सो कार्यक्रम गण्डकी प्रदेशका अन्य ६ जिल्लामा लागू भइसकेको छ । जिल्लाका स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिएको छ । जिल्लाका ६१ वडामा एक÷एक जनाका दरले सहयोगी नियुक्त गरिएको हो ।
स्वास्थ्य बीमा गर्नका लागि पाँचजनासम्मको परिवारले वार्षिक तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप सात सय बीमा रकम तिर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने जनाइएको छ । साथै बीमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन् ।
त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँचजनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य रु २० हजार थप गरी रु दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्थासमेत गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख पौडेलले बीमा कार्यक्रमलाई जिल्लाभर प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशमा स्वास्थ्य बीमाको अवस्थाबारे बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिनुभएको थियो ।