काठमाडौँ – प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा पक्राउ परेका छन्। प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मा सोमबार पक्राउ परेका हुन्।
उनलाई सोमबार नयाँ वानेश्वरबाट पक्राउ गरिएको हो। विश्वकर्मालाई चन्दा असुली, आतंक, नाराजुलुसजस्ता अराजक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलिले विश्वकर्मा सहित सोही पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जना महाशाखाको नियन्त्रणमा छन्। दुवै माथि अनुसन्धान भइरहेको र उनीहरु केहि दिन हिरासतमै रहने महानगरीय अपराध महाशाखाको भनाई छ।
घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ
भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो ।
त्यस्तै गत माघ महिनामा भूकम्प पीडितसँग अन्तिम किस्ताको रकम लिन आवश्यक कागजात मिलाइदिन्छु भन्दै घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका भोजपुर नगरपालिकामा कार्यरत सवइञ्जिनीयर प्रकाश तिवारीविरुद्ध सोमबार विशेष अदालत काठमाडाँैमा आरोपपत्र दायर भएको छ । तिवारी सेवाग्राहीसँग रु छ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ पर्नुभएको थियो ।
तिवारीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुने ठहर भएकाले मुद्दा दायर गरिएको जनाइएको छ ।