काठमाडौँ, फागुन ५ । पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार ब-ला-त्कार प्रयासको मुद्दामा अदालतबाट सफाइ पाएका थिए। जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट छुटेका महरालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले फोन गरेका थिए ।
महरा जेलबाट छुटेर बाहिर निस्कने क्रममा अध्यक्ष प्रचण्डले उनीसंग टेलिफोनमा कुराकानी गरेका थिए । प्रचण्डले महरालाई अदालतबाट निर्दोष सावित भएकोमा बधाई दिएका थिए ।
जिल्ला अदालत, काठमाडौंले सोमबार सफाइ दिए लगतै प्रहरीले महरालाई डिल्लीबजार कारागार पुर्यायो । त्यहा सबै प्रक्रिया पूरा गरेपछि उनी रिहा भएका हुन् ।
एक महिला कर्मचारीलाई जबर्ज-स्ती क-रणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध क-रणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो ।
संसद् सचिवालयका एक महिला कर्मचारीलाई क-रणीको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतमा बहस भएपछि महरालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।