कोरोना भाइरस: २००० नयाँ विरामी, १६०० को गयो ज्यान, डब्लुएचओले गर्यो यस्तो आह्वान!

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको ज्यान गएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक ‘टेड्रोस अधानोम घेब्रेयेसुस’ले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरेका हुन् ।

“हामी सबै एउटै तरिकाले लाग्नु पर्दछ, एक्ला एक्लै होइन,” उनले जोड दिदै भनेका थिए । उनले सबै देशहरुले एक अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुेमा पनि जोड दिएका छन् ।

रोगको महामारी विरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गरेका छन् । उनले त्यसका लागि लगानी गर्नु पर्ने बताएका छन् ।

विश्वमा आत’ङ्क’वाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै उनले यस्ता रोग नियन्त्रणका लागि भने पर्याप्त लगानी र चासो नदिइएको टिप्पणी गरे।

महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनु पर्ने खाँचो रहेको उनको भनाई छ।

कोरोना सङ्क्रमण : दुई हजार नयाँ विरामी, १६ सयको गयो ज्यान

चीनमा फैलिएको कोरोना भाइरसका कारण ज्यान जानेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ ।चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको ज्यान गएको हो ।

उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन् । सङ्क्रमितहरु चीनका ३१ वटा प्रान्तका रहेका छन् ।

थप ज्यान गएका मध्ये १३९ जना हुवेइ प्रान्तका रहेका छन् भने सिचुवान प्रान्तका दुई र हुनान प्रान्तका एक जना रहेका छन् ।चिनियाँ स्वास्थ्य आयोगका अधिकारीहरुले शनिबार मात्रै थप १९ सय १८ जना नयाँ सङ्क्रमणको आशंका गरिएको छ ।

सङ्क्रमित मध्ये २१९ जना शनिबार थप गम्भीर विरामी भएका छन् भने १३ सय २३ जना स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन्। कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या अहिलेसम्म ६५ हजार ५०० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुले ११ हजार २७२ जनाको अवस्था सुधार उन्मुख रहेको पनि बताएका छन् । त्यसैगरी ८ हजार २२८ जनामा आशंका गरिएको छ ।सङ्क्रमित भएर उपचार गराइएका मध्ये अहिलेसम्म ९४ हजार १९ जना उपचारपछि घर फर्किएका छन् । आयोगले ५ लाख २९ हजार ४ सय १८ विरामी नियमित सम्पर्कमा रहेको जनाएको छ ।

यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्बरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।

प्रकाशित : , ०, ००७:३९

विद्युत् चुहावट नियन्त्रण गर्दा प्राधिकरणको जोगियो १० अर्ब