काठमाडौँ – तुलसीपुर उपमहानगरपालिकामा रहेका मासु पसल, किराना पसल तथा होटेलहरुमा बुधबार बिहान अनुगमन गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक माया आचार्य, उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावत, तुलसीपुर इलाका प्रशासन कार्यालयका सुचना अधिकारी यादव भुसाल,पशु सेवा कार्यालयका सुवास आचार्य, इलाका प्रहरी कार्यालय लगायतको टोलिले बुधबार बिहान अनुगमन गरेको हो।
अनुगमनका क्रममा मासु पसलहरु फोहोर भएको र भण्डारणमा लापरवाही गरेको पाइएको अनुगमन टोलिले जनाएको छ। अनुगमनका क्रममा कुखुरा मासु बजारमा एक व्यवसायीले ट्वाइलेटको पानीले मासु सफा गरेको समेत पाइएको बताइएको छ। ‘खड्का फ्रेस हाउस’ले ब्रोइलर कुखुराको मासु ट्वाइलेटको पानीले सफा गर्ने गरेको पाइएको हो।
ट्वाइलेटको ढोका नजिकै भर्याङभरि मासु थुपारिएको र मासु पखाल्न प्रयोग गरिने ट्वाइलेटको जग र बाल्टी समेत फेला परेको अनुगमन टोलिको भनाई छ।
अनुगमन टोलिले उक्त मासु पसलबाट १५ केजी मासु समेत बरामद गरेको छ। यस्तै राँगा मासु पसलमा पनि मासु लापरबाही तरिकाले राखेको पाइएको बताइएको छ।