काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी यशोदा सुवेदी गुरुङले स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न माग गरेकी हुन्। छाउ जस्ता प्रथा-संस्कारलाई बढावा दिने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी जस्ता संस्कारहरुको अन्त्य गर्नका लागि यसो गरिनुपर्ने उनको बुझाई छ।
“के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।”,उनले भनिन्।
गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको उल्लेख गर्दै छाउगोठ मात्र भत्काएर नपुग्ने उनले बताइन्। छाउगोठ जस्ता कुरीतिहरुलाई समाजबाट निर्मुल पार्न मष्तिस्कबाटै छाउगोठ भत्काउने पर्ने उनले तर्क गरिन्।
“गृहमन्त्रालयले छाउगोठ भत्काउने अभियान चलाएको छ। यो स्वागतयोग्य कुरा हो। सदियौं देखि महिलाहरुलाई जकडेर राखेको यो कुरीति भत्काउन मान्छेका मन-मष्तिस्कबाट छाउगोठ भात्काउना जरुरि छ।”,उनले भनेकी थिइन्।