काठमाडौँ – बुधबार माघ १ गते माघी पर्व तथा माघे संक्रान्तिको दिन विभिन्न स्थानीय तह तथा प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेका छन्।
मंगलबार बसेको प्रदेश-१ सरकारको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने प्रदेश २मा सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ।
यता थारु र मगर समुदायको बाहुल्य भएको प्रदेश ५मा पनि प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरिसकेको छ। माघी पर्वको अवसरमा प्रदेश ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ। गत वर्ष पनि यस प्रदेशमा दुई दिन बिदा दिइएको थियो।
कर्णाली प्रदेश सरकारले पनि थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक बिदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि माघ १ गते सार्वजनिक बिदा दिने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा बिदा दिईएको जानकारी गराएका छन्।
माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा प्रदेश १, प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ५ प्रदेशमा माघ १ गते सार्वजनिक बिदा छ।