काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापा बङ्गलादेश भ्रमणमा निस्किएका छन्।
बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदको निमन्त्रणामा प्रधानसेनापति थापा चारदिने बङ्गलादेश भ्रमणमा आइतबार निस्किएका हुन् । उनी नेपाली सेनाकै ‘एम २८ स्काइ ट्रक’ विमानबाट बंगलादेश प्रस्थान गरेका छन्।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी शरदकुमार गिरीले बिदाइ गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बङ्गलादेशमा रहँदा प्रधानसेनापति थापाले त्यहाँका विभिन्न सैनिक एकाइको निरीक्षण भ्रमण गर्नाका साथै उच्चस्तरीय भेटघाट गर्नेछन् ।
उनी आगामी माघ १ गते स्वदेश फिर्ता हुन्छन् । सैनिक नेतृत्वबाट हुने यस खाले भ्रमणबाट दुवै देशका सेनाबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । महारथी थापा भ्रमणमा रहुञ्जेल बलाधिकृतरथी गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सेनाले जनाएको छ ।
बङ्गलादेश प्रस्थान गर्नुअगाडी प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उनको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरेका थिए।
नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार गरेको केहि समयपछि प्रधानसेनापति बङ्गलादेश प्रस्थान गरेका हुन्।